शिक्षामन्त्री रघुजी पन्तले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेपछि शिक्षा समितिको बैठक शुरू भएको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो ।
मन्त्रीले कांग्रेस सभापति देउवासँग अपरान्ह सवा ४ बजेपछि बैठक बसेको हो । शिक्षा मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गरेपछि मन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका थिए ।
मन्त्री सानेपाबाट फर्केपछि बसेको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल भइरहेको छ। सांसदहरूले शिक्षक महासंघले उठाएका मागको लबिङ गर्न थालेपछि अधिकांश विषयमा सहमति जुटिसकेको विद्यालय शिक्षा विधेयक अन्तिम समयमा आएर अड्किएको थियो ।
राहात, अस्थायी र करार प्रकृतिका शिक्षकलाई स्थायी गर्नका लागि लिइने प्रतिस्पर्धा र शिक्षकको मूल्याङ्कन पद्धतिबारे सहमति जुट्न सकेको छैन ।
दरबन्दीको कुल संख्या मध्ये ६० प्रतिशत अस्थायी र ४० प्रतिशत खुलाबाट गर्नेगरी समितिमा सहमति भइसकेको भएपनि कांग्रेसले यो अनुपात बढाउनुपर्ने प्रस्ताव राखेपछि समितिमा सहमति जुट्न नसकेको हो ।
शिक्षकहरूको मूल्याङ्कनको विषयमा पनि सहमति जुट्न सकेको छैन । ६० प्रतिशत स्वमूल्याङ्कन र ४० प्रतिशत स्थानीय पालिकाको संयन्त्रले अंक दिनेगरी विधेयकमा प्रस्ताव गरिएको छ । यो विषयमा पनि तोकिए बमोजिम हुनेछ भनेर राख्न शिक्षकका तर्फबाट लबिङ भइरहेको छ ।
समितिमा सहमति जुट्न नसक्दा असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयास असफल भएको हो ।
समितिमा सहमति भएमा असार २३ गते बस्ने बैठकमा विधेयक लैजाने तयारी छ । निजी स्कुललाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैर नाफामूलक बनाएर जाने गरी विधेयकमा सहमति जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्