राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) साँझसम्म सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ।
बोर्ड स्रोतका अनुसार कुनै प्राविधिक अवरोध नआएमा आज साँझ ७ बजेसम्म नतिजा प्रकाशित गरिनेछ। “हाल बोर्डमा नतिजा सार्वजनिक गर्ने विषयमा अन्तिम छलफल भइरहेको छ,” एक पदाधिकारीले जानकारी दिए।
कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। उक्त परीक्षामा कुल पाँच लाख ११ हजार पाँच सय २५ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना रहेका छन्।
यस वर्ष परीक्षा सञ्चालनमा केही ढिलाइ भएको थियो। शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएको हो। बोर्डले प्रारम्भिक रूपमा वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने तयारी गरेको भए पनि अन्ततः वैशाख २१ गतेबाट मात्र सुरु भएको थियो।
कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ र यसका नतिजा उच्च शिक्षामा प्रवेश तथा करिअर निर्माणका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्।
प्रतिक्रिया दिनुहोस्