Ads

महासचिव पोखरेलको भनाइ : ‘अस्थिरताका रोगीहरूले सरकार ढल्ने हल्ला मात्र चलाएका हुन्’


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अस्थिरताको मानसिकता बोकेकाहरूले सरकार ढल्ने हल्ला फैलाइरहेको आरोप लगाएका छन्।

उनले एमाले–कांग्रेसबीच उच्चस्तरीय सहमतिमा बनेको गठबन्धनले राजनीतिक स्थिरता कायम गरेको दाबी गर्दै आगामी निर्वाचनसम्म यो सरकार निरन्तर रहने स्पष्ट पारे।

सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संसद् र दलहरूमाथि विश्वास राख्न सबैलाई आग्रह गरे। उनले भने, “दुई ठूला दल मिलेर सरकार बनेको छ। स्थिरताको वातावरण देखिएको छ। तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला मात्र फैलाइरहेका छन्।”

कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै महासचिव पोखरेलले सत्तामा हिस्सेदारी खोज्दै सरकारमा सहभागी हुने तर अर्कोतर्फ निरन्तर विरोध गर्ने कार्य नैतिकताविपरीत भएको टिप्पणी गरे। उनले भने, “सरकारमा सहभागी भएपछि जस अपजस दुवैको भागीदार बन्नुपर्छ। सत्ता र विरोध दुवै गर्न खोज्नु नैतिक होइन।”

सूचनाको हक कुण्ठित हुने कुनै कानुन नआउने स्पष्ट गर्दै महासचिव पोखरेलले सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको जानकारी दिए। उनले जोड दिए, “संसद्ले संविधानसँग बाझिने कुनै कानुन बनाउँदैन। स्वतन्त्रताको नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न मात्रै प्रयास गरिएको हो।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनः सक्रियताबारे उठेका प्रश्नमा पोखरेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न राष्ट्राध्यक्ष भइसकेका व्यक्तिहरू सम्मानित भूमिकामै सीमित रहनुपर्ने धारणा व्यक्त गरे। “पूर्वराष्ट्रपतिले फेरि सक्रिय राजनीति गर्नु उचित हुँदैन। यो लोकतन्त्रको मूल्यसँग जोडिएको विषय हो,” उनले स्पष्ट पारे।

महासचिव पोखरेलले आगामी निर्वाचनसम्म कांग्रेस–एमाले गठबन्धन स्थिर रहने पुनः दोहोर्‍याउँदै अस्थिरता खोज्ने प्रवृत्तिलाई ‘राजनीतिक रोग’ को संज्ञा दिएका छन्।

Ads

सम्बन्धित पोष्टहरू