Ads

प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो : जनार्दन शर्मा


बुटवल। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले तत्कालीन नेकपा एमालेसँग मिलेर बनेको तत्कालीन विभाजनमा पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली कारण रहेको बताएका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक सङ्कट र निकास’ विषयक संवाद कार्यक्रममा बोल्दै शर्माले पार्टी माओवादी पार्टी पुनर्संरचनाका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । उनले माओवादी पुनर्गठन हुन नसकेमा गम्भीर संकट निम्तिने पनि बताए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिराटनगरमा पुगेर जनार्दनमाथि गम्भीर आरोप लगाएका थिए । उनले ‘पार्टीभित्र स्वार्थ समूह सक्रिय बन्दै गएको र प्रभाकरले नपत्याउँदैमा माओवादी आन्दोलन नरोकिने’समेत भन्न भ्याएका थिए । प्रचण्डले भनाइ राखिसकेपछि त्यसको जवाफ बुटवलबाट फर्काउँदै उपमहासचिव शर्माले आक्रोश व्यक्त गरेका हुन् ।

उपमहासचिव शर्माले नेतृत्वले पार्टी संगठनलाई आफ्नो बिर्ताजस्तो बनाएको आरोप पनि लगाए । ‘कम्युनिष्ट पार्टीमा पुर्नसंरचना अनिवार्य छ, कम्युनिष्ट ध्रुवीकरण आजको आवश्यकता हो’, शर्माले नेकपा महासचिव नेत्रविक्रम चन्द र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई साक्षी राख्दै भने, ‘त्याग गर्नुपर्ने भए त्याग गर्नुपर्छ । म तयार छु, नयाँ पुस्ताले चाहेको के हो ? एउटा बृहत् स्वार्थ समूहभन्दा माथि उठेर पार्टी पुनर्गठन गर्नुपर्छ ।’

उनले अध्यक्ष प्रचण्डकै कार्यशैलीले तत्कालीन नेकपा विभाजनमा सहयोग पुगेको आरोप पनि लगाए । नेकपा हुँदा केपी शर्मा ओली र प्रचण्ड दुई जना अध्यक्ष थिए । तर प्रचण्डले ओलीविरुद्ध निरन्तर दुई लाइन शक्ति संघर्ष चर्काएपछि नेकपा फुटेको थियो । शर्माले माओवादी पार्टी सरकारमा हुँदा पटक पटक गठबन्धन फेरिरहने नेतृत्वको निर्णयप्रति चर्को आक्रोश व्यक्त गरे।

Ads

सम्बन्धित पोष्टहरू