हेमन्त केसी
सुर्खेत । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर रावत , उपप्रमुख सरिता सिंह लगाएत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी एक्कासी भानुभक्त माध्यामिक विद्यालय नलगाड-४ मा पुगे ।
चुनावपछि विद्यालयको शैक्षिक क्रियाकलाप कसरी अगाडि बढेका छन् भन्दै छड्के जाँचका लागि नगरपालिकाको टाेली विद्यालयमा पुग्दा त्यहाँ सबै छक्क परे । विद्यालयको कार्यालयभित्र प्रवेश नगरी नगरको टाेली विद्यार्थी पढिरहेको कक्षा कोठामा प्रवेश गरेपछि कक्षा कोठामा पढाइ रहेका विषयगत शिक्षक छक्क परे । प्रमुख प्रशासकीय अधिकृत गिरीले पालैपालो विद्यार्थीलाई प्रश्न सोधेर सही जवाफ अपेक्षा गरियो , केहीले सही दिए त केहीले, उत्तर दिन सकेनन् ।
तीन वर्ष अघिसम्म विद्यालयको विनीसम्म रहेका गिरी अहिले उपसचिव भएपछि नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । शिक्षासम्बन्धी राम्रो ज्ञान अनुभव प्राप्त गरेका उससचिव गिरीले विद्यार्थीको मानसिकता र शैक्षिक अवस्था कक्षा कोठामै गएर बुझेर विद्यालय प्रशासनसँग छलफल गरी बेलुकीपख टाेलीसहित नगरपालिकामा फर्के । बुधबार नगरपालिकाको प्रशासकीय केन्द्र रहेको नलगाड-७ दल्लीमा रहेको पुरानो विद्यालय त्रिभुवन माध्यमिक विद्यालयको निरीक्षण भयो ।
भानुभक्त मावि लहँको जस्तै त्रिभुवन मावि दल्लीको अवस्था देखिएपछि उपसचिव गिरीले लिखित र सामाजिक सञ्जालमा लामो सुधारको उपाय लेख्दै सुझाव समेत दिएका छन् । नगरप्रमुखको नेतृत्वमा पालिकाभित्रका सबै मावि विद्यालयहरुको अनुगमन र अवस्था बुझेर थप सुधारको लागि निस्कर्ष निकाल्ने योजनामा नगरपालिका रहेको छ । राज्यले गरेका लगानी अनुसार प्रतिफल नआएको विषयमा समेत व्यापक छलफल भएको उपसचिव गिरीले जानकारी दिए । नलगाडमा रहेका सबै मावि, आधारभूतसँगै सबै विद्यालयको अनुगमन जारी रहेको छ ।
शिक्षा क्षेत्रमा प्रगति हुन सकेन भने मानव विकासको लागि बनेका विद्यालयहरूबाट अपेक्षित नतिजा हासिल हुन नसक्नुका साथै अझै धेरै पछाडि पर्ने निश्चित रहेको गिरीले बताए । विद्यालय र शिक्षाकाे सुधारमा ७० प्रतिशतभन्दा बढी भूमिका शिक्षकसँग नै जोडिने उनकाे भनाइ छ । अहिलेका नीति निर्माण तहमा पुग्नेहरु यिनै विद्यालयका उत्पादन भएकाले यसमा सबैको ध्यान पुग्नु जरुरी भएको नगरप्रमुख डम्मर रावतले बताए ।
कक्षा कोठा अनुगमन केन्द्रीत बनाएको उक्त टोलीले शिक्षाका हरेक पाटाहरुको समाधान खोज्ने प्रयास गरिरहेको बताएको छ । कक्षा कोठामा शिक्षकले पढाउदा विद्यार्थीको ध्यान कता केन्द्रित भएको छ भन्नेदेखि सिद्धान्तलाई व्यवहारमा जोड्न सिक्ने विषयमा अध्ययन भइरहेको छ । बालबालिकालाई व्यवहारिक ज्ञान आर्जनको विषयमा समेत चासो दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्