Ads

सामुदायिक रेडियोहरूको वृद्धि सँगसँगै विज्ञापन बजार बिस्तार हुनुपर्छ: दिनेश थपलिया


काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरूको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार बिस्तार हुनुपर्ने बताएका छन् । आइतबार नेपाल एफ. एम. नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरूको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि बिस्तार हुनुपर्ने बताएका हुन् ।

उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए । हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने उनकाे भनाइ छ। थपलियाले भने, ‘रेडियोहरू स्थानगत रूपमा साह्रै विकेन्द्रित पाइए। तर कन्टेन्टका हिसावले यत्तिको केन्द्रीकरण कहीँ कतै भेटिँदैन। हामीले बोल्ने ठाउँ चाहिँ गाउँमा पुर्‍याएछाैँ। सुन्ने कुरा चाहिँ जहाँ सुने पनि एउटै छ।

उहीँ काठमाडौँको कुरा मात्रै सुन्नुपर्छ भन्ने अवस्था सिर्जना भइरहेछ। यसलाई चिर्न जरुरी छ भन्ने मलाई लाग्छ। विज्ञापनको दृष्टिकोणबाट हेर्दा त यस्तो भयावह तस्बिर देखियो कि अहिले भइरहेको विज्ञापन जति छ, त्यसको २०० प्रतिशत वृद्धि नभएसम्म यी रेडियो र आमसञ्चार माध्यमहरू सस्टेन गर्दैनन् भनेर भन्छन्। विज्ञापन बजार खुम्चिँदै गएको छ। निजी क्षेत्र, सार्वजनिक क्षेत्रको विज्ञापनले अहिलेको यो क्षेत्रलाई धान्नसकिने अवस्था छैन ।

यद्यपि हामीले क्लिनफिड नीतिबाट केही न केही त झन्डै पाँच अर्बको व्यवसाय नेपाल भित्रबाट गर्ने नीति त बनायौँ। तर त्यसले पनि धान्न सक्ने देखिएन।’ उनले रेडियोहरु झुकाव र लगावका कारण समस्यामा परेको बताए। रेडियोहरू कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ। थपलियाले कुनै झुकावमा नलागिकन सञ्चारमाध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरूलाई निर्दिष्ट गर्न सुझावसमेत दिए। उनले सञ्चारमाध्यमले उत्पादन गर्ने विषयवस्तुहरूलाई स्वनियमनको विषय बनाउनुपर्नेमा पनि जोड दिए।

Ads

सम्बन्धित पोष्टहरू