नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले माओवादीसहितका नौ समूहबीचको वाम एकता प्रक्रियाले मुलुकलाई निकास नदिने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले “ओरालो लागेकाहरूको एकताले उकालो लाग्छ” भन्ने भ्रम फैलाउन खोजिएको टिप्पणी गरे ।
उनका अनुसार यस्तो प्रकारको एकताले देशको वाम आन्दोलनलाई अझै दिशाहीन बनाउने खतरा छ । “ओरालो लागेकाहरूको एकताले उकालो लाग्छ भन्ने भाष्य बनाउन खोजिँदै छ । तर जो आफैं ओरालो हिँड्दै छन्, उनीहरूको एकताले निकास दिन सक्दैन,” भुसालले भने ।
भुसालले एमाले हाल वाम आन्दोलनका लागि विकल्प बन्न नसक्ने दाबी गरे । “नेकपा (एमाले) आज वाम आन्दोलनका लागि कसैको विकल्प होइन । फासिजम, नाजिजमजस्ता प्रवृत्तिहरू, उग्र व्यक्तिवाद, निरंकुशता र क्रूरता अहिले एमालेभित्र देखिन्छ,” उनले भने ।
उनले एमालेभित्रको प्रवृत्तिलाई कम्युनिस्ट आन्दोलनका लागि डरलाग्दो अवस्था बताउँदै भने, “त्यसले पार्टी फोड्छ, तोड्छ, प्रश्न उठाउनेलाई निकाल्छ, र मुलुकलाई त्यही ढाँचामा चलाउन खोज्छ । त्यो विकल्प होइन, विकल्प अरू ठाउँमा खोज्नुपर्छ ।”
भुसालको भनाइअनुसार, वाम आन्दोलनको पुनर्गठनका लागि वैचारिक स्पष्टता, लोकतान्त्रिक अभ्यास र नयाँ विकल्पको निर्माण आवश्यक छ, केवल संगठनहरूको जोडघटाउले होइन ।
प्रतिक्रिया दिनुहोस्