Ads

‘माओवादी मूलधारा जोगाउन’ जनार्दन शर्मा आयोग जाँदै, चिन्ह र नाममा दाबी


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा पार्टीको नाम र चुनाव चिन्हमा दाबी गर्न निर्वाचन आयोग जान लागेका छन्। पार्टीभित्रको पछिल्लो असन्तुष्टि र वैचारिक विवादका बीच शर्माले आफूलाई आधिकारिक माओवादीको निरन्तरता दाबी गर्दै कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेका हुन्।

शर्मा निकट एक नेताका अनुसार, पार्टी अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रलाई विघटनको दिशामा लैजाने प्रयास गरेको आरोप लगाउँदै शर्माले कदम चालेका हुन्। “जनार्दन शर्मा माओवादी केन्द्रका निर्वाचित उपमहासचिव भएकाले नाम र चुनाव चिन्ह दाबी गर्न कानुनी हैसियत राख्छन्,” स्रोतले बतायो।

शर्माले पछिल्लो समय दाहालको नेतृत्वप्रति तीव्र असहमति जनाउँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्दै आएका छन्। तर, दाहालले माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, प्रेमबहादुर सिंहलगायत ७० वर्ष नाघेका नेताहरूसँग सहकार्य गर्दै पार्टीलाई ‘विस्तारित वाम गठबन्धन’को दिशामा अघि बढाएका छन्।

शर्मा र अर्का नेता राम कार्कीले भने माओवादी आन्दोलनको मूल विचार र जनयुद्धको आदर्शलाई जोगाउन माओवादी केन्द्रलाई पुनर्गठन गर्ने उद्देश्य राखेका छन्। उनीहरूका अनुसार, वर्तमान माओवादी केन्द्र “माओवादीको मूल धारा होइन, बरु उसको वैचारिक विसर्जनको प्रक्रिया” बनेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, शर्माको यो कदम माओवादी आन्दोलनभित्रको नयाँ मोडको संकेत हो — जहाँ पुरानो नेतृत्वको निरन्तरता र नयाँ पुस्ताको वैकल्पिक नेतृत्वबीचको संघर्ष खुला रूपमा सतहमा आएको छ।

Ads

सम्बन्धित पोष्टहरू