काठमाडौं । पत्रकार तथा लेखक खगेन्द्र गिरीको कथा संग्रह ‘भग्न प्रेमशाला’ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। पुस्तक विमोचन लेखक गिरीसहित प्रख्यात साहित्यकार नयनराज पाण्डे, सगुना शाह र बसन्त बस्नेतले संयुक्त रूपमा गरे।
‘भग्न प्रेमशाला’ गिरीको पहिलो कथा संग्रह हो, जसमा नौवटा कथा समावेश छन् — निर्मुक्त स्त्री, मखमल, अदृश्यस अतस्निहत्था, किमा पराठा, चिसो, स्माइल प्लिज, खुकुरी, हाप्सिलो र हगनगौंडा। यी कथाहरूमा समाज, मनोविज्ञान, राजनीति र मानवीय सम्बन्धका विविध तहहरूलाई सूक्ष्म र प्रयोगात्मक ढंगले प्रस्तुत गरिएको छ।
कार्यक्रममा बोल्दै अनलाइनखबरका प्रधान सम्पादक तथा लेखक बसन्त बस्नेतले भने,
“खगेन्द्रको कथाकारको रूपमा प्रवेश निकै खतरनाक ढंगले भएको छ। केही वर्षयता उपन्यासले दादागिरी जमाएको अवस्थामा यो कथासंग्रहले त्यस प्रभुत्वलाई चुनौती दिन सक्षम छ।”
उनका अनुसार ‘भग्न प्रेमशाला’ का कथाहरूमा नयाँपन र बौद्धिक झट्का दुवै छन्।
“खगेन्द्रले गरेका प्रयोगहरू चाखलाग्दा मात्र होइन, दिमाग हल्लाउने खालका छन्। कथाहरू पढ्दा जीवन जस्तो छ त्यस्तै देखिन्छ — न त चम्किलो, न त बनावटी,” बस्नेतले भने।
अनुवादक तथा रंगकर्मी सगुना शाहले ‘भग्न प्रेमशाला’ लाई समाजको ऐतिहासिकदेखि समसामयिक अवस्थासम्मको मनोवैज्ञानिक दस्तावेजका रूपमा चित्रित गरिन्।
उनका शब्दमा, “खगेन्द्रको लेखाइमा कुनै वादको आग्रह छैन, तर समाजका गहिरा तहहरू स्वस्फूर्त रूपमा झल्किन्छन्। उहाँको कथा लेखनको बलियो पक्ष भनेको उनको ‘आधिकारिक भ्वाइस’ हो।”
शाहका अनुसार पुस्तकमा महिला पात्रहरूको विविध रूप — इतिहासदेखि जनयुद्ध र वर्तमानसम्म — सजीव रूपमा उतारिएको छ।
“कथाहरू सुरुमा सामान्य लागे पनि पढ्दै जाँदा ती अत्यन्त गहिरा, रहस्यमय र सोच्न बाध्य पार्ने खालका छन्,” उनले भनिन्।
साहित्यकार नयनराज पाण्डेयले नेपाली कथाको क्षेत्रमा नयाँ आशा जगाउने कृति भएको टिप्पणी गरे।
“खगेन्द्रका कथाहरू पढ्दा पात्रहरू हाम्रो वरिपरिकै लाग्छन्। भाषा सरल, स्वाभाविक र प्रवाहमय छ। अहिलेको पुस्ताका लागि कथा यसरी लेख्नुपर्छ भन्ने सन्दर्भ प्रस्तुत भएको छ,” पाण्डेयले भने।
लेखक खगेन्द्र गिरीले आफ्नो कथासंग्रहमा “टुटेफुटेको प्रेम र अपूर्ण तृष्णाहरू”को कथा समेटिएको बताए।
उनका अनुसार यो पुस्तक निकाल्ने प्रेरणा पत्रकार नारायण ढकालसँगको एउटा संवादबाट सुरु भएको थियो।
“गत वर्ष दसैंताका कान्तिपुरको कोसेलीमा मेरो ‘केस नम्बर ४’ कथा छापिएपछि ढकालजीको फोन आयो— ‘तपाईं कथा लेख्दै हुनुहुन्छ, अरू पनि पठाउनुहोस्’ भनेर। त्यस फोनले नै पुस्तक छाप्ने बाटो खोलिदियो,” गिरीले स्मरण गरे।
इन्डिगो इन्कद्वारा प्रकाशित ‘भग्न प्रेमशाला’को मूल्य रु. ५४९ तोकिएको छ।
समकालीन नेपाली समाज, संवेदना र यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्ने यो कृति अहिलेका पाठकमाझ नयाँ कथन–शैलीको सशक्त उदाहरणका रूपमा मूल्याङ्कन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्