Ads

कुलमान घिसिङको नयाँ पार्टी ‘जनसेवा’, चुनाव चिह्न ‘बल्ब’ हुने चर्चा


वर्तमान सरकारले महत्वपूर्ण तीनवटा विकाससम्बन्धी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री कुलमान घिसिङ आज (सोमबार) नयाँ राजनीतिक दलको औपचारिक घोषणा गर्न तयारी अवस्थामा छन्।

घिसिङ नेतृत्वमा बन्न लागेको नयाँ दलमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘जेनजी पार्टी’ समेत समाहित हुने तयारी छ। कुलमानका निकट स्रोतका अनुसार उक्त दलमा स्वतन्त्र प्रदेश सांसद ताराप्रसाद जोशी, प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ, तथा शिक्षाविद् सागर ढकाल पनि सहभागी हुने अपेक्षा गरिएको छ। त्यस्तै, जेनजी आन्दोलनका अगुवा भन्दै आएका सुदन गुरुङका प्रतिनिधिहरू पनि पार्टीमा जोडिने बताइएको छ।

कुलमान निकट अर्का स्रोतका अनुसार सोमबारै निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिने तयारी अन्तिम चरणमा पुगेको छ। त्यसका लागि यसअघि आयोगमा दर्ता भइसकेको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तनका लागि निवेदन दिइने वा नयाँ दलकै रूपमा ‘जनसेवा पार्टी’ दर्ता गरिने विकल्पमाथि छलफल भइरहेको छ।

“सुरुमा उज्यालो नेपाल पार्टीकै नाममा घोषणा गर्ने तयारी थियो, तर केही सहयोगीहरूले ‘जनसेवा पार्टी’ नाम बढी उपयुक्त हुने सुझाव दिएका छन्।” त्यसैले, अन्तिम निर्णयमा ‘जनसेवा पार्टी’ नाम रहने सम्भावना बलियो भएको जनाइएको छ।

निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि आगामी कात्तिक ३० गतेसम्मको म्याद दिएको छ। म्याद सकिनुअघि नै दर्ता प्रक्रियालाई तीव्रता दिँदै घिसिङको टिमले काठमाडौँमा भव्य घोषणासभा आयोजना गर्ने तयारी गरेको छ। नयाँ दलको चुनाव चिह्न ‘बलिरहेको चिम’ (लाइट बल्ब) रहने जानकारी पनि स्रोतहरूले दिएका छन्।

कुलमान घिसिङको नेतृत्वमा बन्न लागेको यो दलले सफा ऊर्जा, पारदर्शिता, सुशासन र जनमुखी विकासलाई मूल एजेन्डा बनाउने बताइएको छ। उनको निकट वृत्तका एक सदस्यका अनुसार,

“कुलमानले विगतमा जस्तै नतिजा दिने राजनीतिक विकल्प खोज्ने नागरिकका लागि यो दल नयाँ आशाको केन्द्र बन्नेछ।” स्रोतहरूका अनुसार नयाँ दलको घोषणापछि समसामयिक राजनीतिमा ठूलो चासो पैदा हुने अपेक्षा गरिएको छ, किनभने घिसिङको व्यावसायिक छवि र जनस्तरमा लोकप्रियताले राजनीतिक भूमिकामा समेत नयाँ गतिशीलता ल्याउन सक्ने अनुमान गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू