नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक आगामी मंसिर २ गते दिउँसो १ बजेका लागि बोलाएको छ। एमालेले यस बैठकलाई संसदीय दलको बैठकका रूपमा औपचारिक रूपमा आयोजना गर्न लागेको हो।
एमाले केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा हाल मुलुकमा उत्पन्न असामान्य र जटिल राजनीतिक परिस्थितिको समीक्षा गर्दै लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिनेछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आयोजना हुने जनाएको छ।
हाल नेकपा (एमाले)का सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान सुरु गरेका छन्। ती हस्ताक्षरहरू सर्वोच्च अदालतमा बुझाउने तयारी पनि भइरहेको एमाले स्रोतहरूले बताएका छन्।
सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा संवैधानिक इजलासका न्यायाधीशहरूले अधिवक्ताहरूसँग ‘किन कुनै सांसद स्वयं विघटनविरुद्ध मुद्दा लिएर आएनन्?’ भन्ने प्रश्न उठाएका थिए। साथै, न्यायाधीशहरूले ‘प्रतिनिधि सभा विघटनका पीडित को हुन्?’ भन्ने जिज्ञासा पनि राखेका थिए।
न्यायालयको उक्त प्रश्नपछि एमाले सांसदहरू सक्रिय हुँदै संविधानको मर्मअनुसार प्रतिनिधि सभा पुनर्स्थापनाका लागि औपचारिक कानुनी कदम चाल्न जुटेका छन्।
एमालेको यो बैठकले प्रतिनिधि सभा पुनर्स्थापनाको राजनीतिक र कानुनी आन्दोलनलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्