Ads

न्तोष परियारको नयाँ यात्रा : रास्वपाबाट बाहिरिएर ‘प्रगतिशील राष्ट्रिय अभियान’मा प्रवेश


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वप्रमुख सचेतक सन्तोष परियार जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा आवद्ध हुने भएका छन्। विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका परियारले रास्वपा परित्याग गरेपछि उनी उक्त नयाँ राजनीतिक संरचनामा जोडिन लागेका हुन्।

माओवादीले गत कात्तिक १९ गते बनाएको नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’मा नगएका पूर्वउपमहासचिव जनार्दन शर्मा पक्षका नेता–कार्यकर्ताले बिहीबार पूर्वमन्त्री सुदन किरातीको नेतृत्वमा ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका थिए। सोही अभियानमा परियार पनि सहभागी हुने निर्णयमा पुगेका छन्।

पार्टीभित्र पछिल्लो समय उत्पन्न आन्तरिक कलह, असन्तुष्टि र नेतृत्वसँगको मतभिन्नताका कारण आफू रास्वपा छाड्न बाध्य भएको परियारले बताएका छन्। रास्वपाका प्रवक्ता मनिष झाले परियारको राजीनामा स्वीकार भएको जनाउँदै भने, “प्रमुख सचेतकका रूपमा जिम्मेवारी सम्हालिरहेका परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छाडेको जानकारी दिनुभएको छ। उहाँले नयाँ राजनीतिक अभियानसहित अघि बढ्ने बताए।”

यसअघि पनि रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ पार्टी छाडिसकेकी छन्। पार्टीभित्र असन्तुष्टि बढ्दै गएसँगै तोषिमा कार्की, गणेश कार्कीलगायत नेताहरूले पनि निरन्तर आलोचना र असहमति व्यक्त गरिरहेका छन्।

रास्वपामा बढ्दो असन्तुष्टि र नेतृत्वको निर्णयप्रतिको प्रश्नले हाल राजनीतिक पुनर्संयोजन तीव्र रूपमा देखिन थालेको छ।

Ads

सम्बन्धित पोष्टहरू