पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश अहिले इतिहासकै जटिल, कमजोर र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक नेतृत्वदेखि नागरिकसम्म सबैले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले चेतावनीस्वरूप लेखेका छन्– “सबैले गम्भीर आत्म-समीक्षा गरौँ, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन।”
भट्टराईका अनुसार राष्ट्र, राज्य व्यवस्था, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति तथा जनमनोबल अहिलेजस्तो कमजोर अवस्था नेपाली इतिहासमा विरलै देखिएको छ। यस्तो संवेदनशील घडीमा पद, शक्तिको भागबण्डा र आरोप–प्रत्यारोपमा रमाउने समय नभएको उनले स्पष्ट पारे।
उनले लेखेका छन्, “घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने र कसले ठूलो भाग खाने भन्ने झगडा गर्ने बेला होइन। बरु सबै मिलेर आगो निभाउने र नयाँ, अझ सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो।”
भट्टराईले राष्ट्रिय संकटको घडीमा दलहरूबीच सहकार्य, जिम्मेवारी र दूरदृष्टियुक्त निर्णय आवश्यक रहेको उल्लेख गर्दै अबको समय ‘दोषारोपणको राजनीति’ होइन, ‘सहयोग र समाधानको राजनीति’ हुनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्