Ads

हिजो बन्दुक बोकेकाे रुकुम, आज सत्यकाे सवाल बोकेर उभिएको छ: सन्दिप पुन


प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा सहिद सन्तति सन्दीप पुनले सामाजिक सञ्जालमार्फत एक तीक्ष्ण राजनीतिक टिप्पणी सार्वजनिक गरेका छन्।

उनका अनुसार, रुकुम (पूर्व) केवल भूगोल होइन—यो नेपालको राजनीतिक दिशा बनाउने अग्रपंक्ति थियो। तर आज यही माटो सैद्धान्तिक दिशाहीनता, सत्ता–केन्द्रित स्वार्थ र जनता–केन्द्रित एजेन्डाप्रति देखिएको उदासीनताले गम्भीर निराशाको अन्धकारमा थिचिएको छ।

पुन लेख्छन्- “युवालाई बाँधेर राख्ने राजनीतिक संस्कार अब ढल्नैपर्छ।” उनका अनुसार नयाँ पुस्ताको मार्ग अवरुद्ध पार्ने, गुटको इशारामा चल्ने, र सैद्धान्तिक राजनीति बेच्न तयार नेतृत्वहरूकै कारण रुकुमको भविष्य जोखिममा छ।

हिजो वर्ग–संघर्षका मैदानमा बन्दुक बोकेर न्यायको खोजीमा लाग्नेहरू आज लाइन–संघर्षको दलदलमा फसेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पारिरहेको उल्लेख गर्दै, पुन थप्छन्—
“दिशाहीन नेतृत्वले आन्दोलनका मूल्यहरू मिचेको देख्दा दुःख मात्र होइन, क्रोध उठ्छ।”

उनले उत्पीडित युवा, सहिद परिवार, वेपत्ता तथा घाइते योद्धा र रुकुमेली आमा–दिदीबहिनीलाई अब सचेत हुन आह्वान गरेका छन्। “तपाईंहरूको संख्या गनेर कुर्सी चढ्नेहरूले नै तपाईंलाई शोषण गर्दै आएका छन्,” पुनको आरोप छ।

उनले रुकुमेली जनताले यसपटक केही तीखा र असहज प्रश्न जरूर सोध्नु पर्ने बताएका छन्:
• Gen-Z आन्दोलनको क्रममा नेताको घर कसले जलायो?
• हामीले आफ्नै रगत बगाएर बनाएको पार्टी कार्यालय कसले ध्वस्त पार्यो?
• नेताको कोठामा भेटिएको खरानी कसको इतिहास थियो?

उनी लेख्छन्—यी प्रश्नको जवाफ विदेशी शक्तिको बहानामा पन्छाउन खोजिन सक्छ। तर यथार्थ कडै छ: आगो लगाउनेहरू त्यही वर्गका थिए, जो हिजो हाम्रो घर–कार्यालय जोगाउन उभिनुपर्ने पक्षधरहरू थिए।
उही वर्ग किन विरोधमा परिणत भयो? किन उनीहरूलाई आगो लगाउन प्रेरित गरियो?—यिनै प्रश्नको मूल सत्य रुकुमेली जनताले आफैँ खोज्नुपर्ने पुनको आग्रह छ।

उनले चेतावनी स्वरमा लेखेका छन्- “फेरि जनता झुक्याउन नयाँ जुक्ति चलाइँदैछ। तर रुकुमेली जनता अब अल्झिने होइनन्—यो पटक जागरणलाई नतिजामा रूपान्तरण गर्नुपर्छ।”

Ads

सम्बन्धित पोष्टहरू