Ads

‘सामूहिकता हरायो’— क्रान्तिकारी उपाध्यक्षहरूको मूल नेतृत्वमाथि प्रश्न


तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का छ जना उपाध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संगठनको मूल नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

उपाध्यक्ष विराज थापा उमेश कँडेल, मदन ढकाल, ममता अधिकारी, कृष्णबहादुर सुनार र अभिमन्यू यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा हालका दिनमा संगठनभित्र सामूहिक छलफल र आन्तरिक संवादको प्रक्रिया कमजोर बन्दै गएको उल्लेख छ। उनीहरूका अनुसार यही कारण संगठनका कार्यक्रमहरू प्रभावहीन र फिक्का देखिन थालेका छन्, जसको प्रमुख जिम्मेवारी मूल नेतृत्वले लिनुपर्छ।

विज्ञप्तिमा भनिएको छ, “संगठनभित्र सामूहिक छलफल हुन छाड्नु अत्यन्त गम्भीर विषय हो। यसको जिम्मेवारी मुख्यतः संगठनको मूल नेतृत्वले लिनुपर्छ। संगठनका कार्यक्रमहरू प्रभावहीन बन्दै गएको अवस्थाप्रति हामी सचेत छौँ।”

छ उपाध्यक्षहरूले संगठनको मूल नेतृत्व तथा विभिन्न फ्याक्सनबीच विधि–पद्धतिपूर्वक विस्तृत एकता निर्माण गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन्। पार्टी एकताको भावना परिलक्षित हुने गरी कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।

विद्यार्थी नेताहरूले हालैको जेन–जी आन्दोलनका क्रममा सहभागी विद्यार्थी र प्रदर्शनकारीहरूमाथि सरकारले अन्यायपूर्ण रूपमा मुद्दा दायर गरेको भन्दै कडा विरोध जनाएका छन्। विज्ञप्तिमा तोडफोड, आगजनी र घुसपैठमा संलग्न व्यक्तिहरूलाई निष्पक्ष अनुसन्धानपछि मात्र उचित कारबाही गर्न सरकारसँग माग गरिएको छ।

विज्ञप्तिमा शैक्षिक क्षेत्रमा देखिएका विकृति, विसङ्गति र निजीकरणविरुद्धको संघर्ष निरन्तर जारी रहने उल्लेख छ। साथै, समाजमा विद्यमान विभेद र अन्यायका विषय उठिरहँदा विद्यार्थी आन्दोलन विचलित भइरहेको जनआभास देखिनु गम्भीर चिन्ताको विषय भएको ठहर विद्यार्थी नेताहरूले गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “विद्यार्थी संगठनको आवश्यकता नै शून्य हुँदै गएको हो कि भन्ने प्रश्नहरू उठिरहेकाले हामी यसप्रति गम्भीर छौँ।”

नेपालका वामपन्थी शक्तिहरूको एकीकरणपछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले आयोजना गर्दै आएका सन्देश सभाहरूमा विद्यार्थी संगठन पनि समान उत्साह र सक्रियतासहित सहभागी हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ। पार्टी एकताको सन्देश समाजका हरेक संरचनामा प्रभावकारी रूपमा सम्प्रेषण गर्नु विद्यार्थी संगठनको जिम्मेवारी भएको उल्लेख गर्दै छ उपाध्यक्षहरूले संगठनलाई जिम्मेवारीपूर्ण भूमिकामा फर्किन आह्वान गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू