Ads

पहिलेकै संरचनामा फर्कियो एमाले, विधान संशोधनमा ईश्वर पोखरेलको विमति


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानमा पुनः संशोधन गर्दै दशौँ महाधिवेशनबाट पारित पुरानै विधानलाई कायम गरेका छन् । भदौ महिनामा तयार गरिएको नयाँ विधानलाई तीन महिनामै परिमार्जन गर्दै ओलीले आफ्नो प्रस्ताव बैठकमा निर्णयार्थ पेश गरेका हुन् ।

अध्यक्ष ओलीद्वारा प्रस्तावित संशोधित विधानअनुसार पार्टीमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी यथावत् रहने व्यवस्था गरिएको छ । यसअघि भदौमा प्रस्तुत नयाँ विधानमा संरचनागत परिवर्तनका प्रस्ताव गरिएका थिए, तर ती प्रस्तावहरू यसपटक हटाइएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बैठकमा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत केन्द्रीय सदस्यहरूले समर्थन जनाउँदै प्रस्ताव पारित गरेका छन् । प्रस्ताव पारित हुने क्रममा बैठक हलमा ताली बजाइएको थियो ।

यद्यपि, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरूले संशोधनप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले विधान संशोधनले आन्तरिक लोकतन्त्र कमजोर बनाउने भन्दै आपत्ति जनाए पनि अध्यक्ष ओलीले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि अन्य केन्द्रीय सदस्यहरूको समर्थनमा पोखरेल पक्ष अल्पमतमा परेको देखिएको छ ।

प्रस्ताव पारित भएपछि अहिले भृकुटीमण्डपस्थित बैठक हलमा ईश्वर पोखरेल पक्षका नेताहरूले नाराबाजी गरिरहेका छन्, जसका कारण बैठकस्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व चयन प्रक्रियामा यस घटनाले थप तरंग ल्याउने संकेत देखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू