नेकपा (एमाले) को आसन्न ११औँ महाधिवेशनलाई लक्षित गर्दै प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रीय महासचिव इन्जिनियर राजन थापाले पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। पार्टीलाई समयसापेक्ष, आधुनिक र परिणाममुखी बनाउने अभियानमा युवापुस्ताको निर्णायक भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उनले नेतृत्व तहमा प्राविधिक दक्षता, नीति–कार्यान्वयन क्षमता र नवीन सोच स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बदलिँदो सामाजिक–राजनीतिक परिवेशमा पार्टीले नयाँ पुस्ताको सोच, प्रविधिमैत्री दृष्टिकोण र व्यवहारिक कार्यसम्पादन क्षमतालाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउँदै थापाले युवालाई केवल सहभागीका रूपमा सीमित नगरी निर्णायक भूमिकामा स्थापित गर्नुपर्नेमा जोड दिए। “पार्टीलाई नवप्रवर्तनशील, प्रभावकारी र जनउत्तरदायी संरचनातर्फ लैजान मेरो उम्मेदवारी केन्द्रित छ,” उनले भने।
२३ वर्षको राजनीतिक अभ्यास र १३ वर्षको इन्जिनियरिङ पेशागत अनुभवसहित थापा विद्यार्थी राजनीतिबाट संगठित आन्दोलन, प्राविधिक संस्था र पेशागत नेतृत्व हुँदै स्थापित व्यक्तित्वका रूपमा परिचित छन्। अनेरास्ववियु हुँदै नेपाल इन्जिनियर्स एसोसिएसन र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण अभियानमा सिन्धुपाल्चोक जिल्लामा ९० हजारभन्दा बढी घर निर्माण परियोजनामा सामुदायिक तथा प्राविधिक नेतृत्व प्रदान गरेका थिए।
त्यसैगरी, च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालय पुनर्निर्माण कार्यमा पनि थापाले क्षति मूल्यांकनदेखि प्राविधिक समाधान, डिजाइन र निर्माण प्रक्रियासम्म प्रत्यक्ष भूमिका निर्वाह गरेका थिए। यसले पार्टी संरचनामा उनको प्राविधिक दक्षता र संगठनात्मक क्षमताको उदाहरण प्रस्तुत गरेको छ।
सिभिल इन्जिनियरिङमा स्नातक तथा Disaster Risk Engineering and Management मा स्नातकोत्तर उपाधि प्राप्त थापाले CARE Nepal, ACTED Nepal, नेपाल ग्रामीण पुनर्निर्माण संस्था तथा JICA मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका छन्। हाल Ripple Group of Companies का अध्यक्ष रहेका उनी संगठनात्मक सुशासन, प्रभावकारी परियोजना व्यवस्थापन, युवालाई निर्णय तहमा पहुँच र आधुनिक राजनीतिक व्यवस्थापनको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।
पार्टीले जिल्लादेखि केन्द्रसम्म ४० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीति अघि सारेको सन्दर्भ उल्लेख गर्दै थापाले “युवाको हस्तक्षेप, पेशागत दक्षता र परिणाममुखी नेतृत्वलाई संस्थागत गर्ने निर्णायक समय आएको छ,” भन्दै आफ्नो उम्मेदवारी स्वाभाविक, आवश्यक र समयानुकूल भएको स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस्