Ads

महाधिवेशनको चुनावी सरगर्मी चुलियो, पोखरेल पक्षले महासचिवदेखि सचिवसम्म नाम टुंग्यायो


नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै नेतृत्व तहमा प्यानल निर्माण तीव्र बनेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो पक्षका उम्मेदवार टुंग्याउन सक्रिय देखिएका छन्।

पदाधिकारी तहमा आफ्नो पक्ष बलियो बनाउने रणनीतिसहित पोखरेल पक्षले केही प्रमुख पदमा उम्मेदवारको नाम लगभग निश्चित गरिसकेको छ। पोखरेलले अध्यक्ष ओलीलाई चुनौती दिने गरी महासचिव पदमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई र सचिवमा गोकुल बाँस्कोटाको नाम टुंग्याएको बताइएको छ। पोखरेल समूहको आन्तरिक छलफलमा हालसम्म तीन प्रमुख पदको टुंगो लागेको एक नेताले जानकारी दिएका छन्।

एमाले विधानअनुसार यसपटक पाँच जना उपाध्यक्ष रहने व्यवस्था छ। पोखरेल समूहले उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट र बिन्दा पाण्डेलगायतका नाम टुंग्याइसकेको छ भने केही पद अझै बाँकी छन्। आदिवासी–जनजाति, महिला र पुरुषको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी नाम छनोट गर्ने प्रयास भइरहेको बताइएको छ।

तीन उपमहासचिवमध्ये एक पदमा योगेश भट्टराईको नाममा सहमति जुटेको छ भने बाँकी दुई उपमहासचिवको नाम अझै तय भइसकेको छैन। सचिव पदका लागि भने गोकुल बाँस्कोटाको नाम टुंगिएको छ। यसबाहेक कृष्णगोपाल श्रेष्ठदेखि रचना खड्कासम्मका नाममा समेत छलफल भइरहेको जनाइएको छ।

यसैबीच, एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया आज बिहान ८ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। पार्टी निर्वाचन आयोगले आइतबार साँझ सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार बिहान ९ बजेसम्म दाबी–विरोधका लागि समय तोकिएको छ।

निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र मंगलबार मतदान गर्ने तयारी गरिएको छ। आयोगको कार्यतालिकाअनुसार मतदाता नामावलीमा परेका दाबी–विरोधको छानबिन बिहान १० बजेसम्म सकाइनेछ भने १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारी फारम बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म वितरण हुनेछ। उम्मेदवारी दर्ता बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म हुनेछ। उम्मेदवारको प्रारम्भिक नामावली दिउँसो २:३० बजे प्रकाशन गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दिने समय २:३० बजेदेखि आधा घण्टा निर्धारण गरिएको छ भने उजुरीको छानबिन १० मिनेटमै सम्पन्न गरिने आयोगले जनाएको छ। अन्तिम उम्मेदवारको नामावली साँझ ६ बजे सार्वजनिक हुनेछ।

११औँ महाधिवेशनमा देशभरबाट २ हजार २६३ जना प्रतिनिधि सहभागी हुँदैछन्।

Ads

सम्बन्धित पोष्टहरू