काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा तोकिएको समयभन्दा करिब डेढ घण्टा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिएको हो।
अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले स्वयं मत हालेसँगै औपचारिक रूपमा मतदान प्रारम्भ भएको हो। प्राविधिक समस्याका कारण मंगलबार साँझ सुरु हुन नसकेको मतदान आज बिहान ८ बजेका लागि तय गरिएको थियो। तर अध्यक्ष ओलीको आगमन ढिलाइ भएपछि मतदान प्रक्रिया साढे ९ बजेदेखि मात्र सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशनमा ओली र पोखरेल आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली (इलेक्ट्रोनिक भोटिङ मेसिन) प्रयोग गरिएको छ। आयोगका अनुसार एक प्रतिनिधिले मत हाल्न करिब ३० देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ।
मतदान सहज बनाउन एकैसाथ ८० वटा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ। यस महाधिवेशनमा ६ सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने कुल २ हजार २६३ जना प्रतिनिधिले मतदान गर्नेछन्।
मतदान प्रक्रिया अपेक्षाकृत ढिलो भए पनि मतगणना विद्युतीय प्रणालीमार्फत हुने भएकाले मतदान सम्पन्न भएको १ देखि २ घण्टाभित्र नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।
एमालेको नयाँ नेतृत्व चयनलाई लिएर भृकुटीमण्डपमा उत्साहपूर्ण वातावरण देखिएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस्