माओवादी जनयुद्धका सहिदका सुपुत्र सन्दीप पुन प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को विद्यार्थी सङ्गठनको संयोजकमा चयन भएका छन् ।
प्रलोपाको पुस १ र २ गते सम्पन्न केन्द्रीय समितिको बैठकले पुनलाई विद्यार्थी सङ्गठनको संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
पार्टीका अनुसार पुनको नेतृत्वमा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यता र प्रगतिशील विचारधारालाई संस्थागत तथा विस्तार गर्ने लक्ष्य लिइएको छ । विद्यार्थी सङ्गठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास पार्टीले व्यक्त गरेको छ ।
जेन–जी विद्रोहपछि स्थापित हुने पहिलो विद्यार्थी सङ्गठन भएकाले यसको भूमिका आगामी दिनमा अझ प्रभावकारी र अर्थपूर्ण हुने अपेक्षा गरिएको प्रलोपाको भनाइ छ ।
रुकुम पूर्वका पुन माओवादी जनयुद्धका सहिद सुन्दर पुन र बृक्षा पुनका सुपुत्र हुन् । नेपालको राजनीतिक तथा विद्यार्थी आन्दोलनको इतिहासमा पहिलो पटक सहिदका सुपुत्रले विद्यार्थी सङ्गठनको नेतृत्व तहमा जिम्मेवारी पाएको दाबी प्रलोपाले गरेको छ ।
पार्टीले यो निर्णयले राजनीतिक परिवर्तनमा सहिद परिवारको निरन्तर योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको नेतृत्व विकासमा महत्वपूर्ण सन्देश दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्