Ads

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिटमा आज सर्वोच्चमा पेशी


प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै ६८ जना सांसदले दायर गरेको पूरक रिटमा आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ । उक्त पूरक रिट मङ्गलबार वारेसमार्फत सर्वोच्च अदालतमा दर्ता भएको थियो ।

नेपाली कांग्रेसका ६५ तथा अन्य दलका तीन सांसदसहित कुल ६८ सांसदले प्रतिनिधिसभा पुनःस्थापना माग गर्दै पूरक रिट दायर गरेका हुन् । रिट दर्ताका लागि पूर्वसांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहित वारेस दिएका थिए ।

यसअघि नेपाली कांग्रेसका ८ जना सांसदले मङ्सिर २३ गते सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित रिट दायर गरेका थिए । त्यसपछि थप ६० सांसद सर्वोच्च अदालत पुगेसँगै पूरक रिट दर्ता भएको हो ।

कांग्रेस सांसदहरूसँगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी तथा एक स्वतन्त्र सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापनाको मागमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन् । साथै, तीन जना पूर्वसांसद कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर गरेका थिए ।

यसअघि नै नेकपा एमालेका ७५ जना सांसदहरूले पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाइसकेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसद आवश्यक पर्नेमा अहिलेसम्म हस्ताक्षर बुझाउने सांसदको संख्या १ सय ४३ पुगेको छ । यसले प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई संसदभित्र बहुमतको समर्थन प्राप्त भएको देखाउँछ ।

Ads

सम्बन्धित पोष्टहरू