काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आन्तरिक किचलो भएको छ । समानुपातिकतर्फका उम्मेदवार छनौटलाई लिएर विवाद भएपछि पार्टी कार्यालयमा कार्यकर्ताहरुले घेरेका छन् । स्रोतका अनुसार पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत प्राप्त गरेका उम्मेदवारलाई पनि समानुपातिक सांसदका रुपमा सिफारिस गर्ने तयारी गरिएको भन्दै आन्तरिक विवाद चर्किएको हो ।
’निर्वाचन आयोगले मागेको बन्दसूचीको विवरण आजै अन्तिम रुप दिने तयारी छ’, स्रोतले भन्यो, ’तर केही नामका विषयमा असन्तुष्टि बढ्यो । कार्यकर्ताहरु कार्यालयमा जम्मा भएका छन् ।’ रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो । ४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ । समानुपातिकका केही नामहरु रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो ।
सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपा नेता लालविक्रम थापाले पार्टीलाई सही बाटोमा हिँडाउनुपर्ने बताएका छ्न । थापाले सामाजिक सञ्जालमा लेखेका छन् – ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’
प्रतिक्रिया दिनुहोस्