काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्ने चर्चा चले पनि अन्तिम सूचीमा नपरेपछि ज्ञानेन्द्र मल्ल ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
सदन प्रवेशको अवसर नपाए पनि उनले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देशको हित महत्वपूर्ण हुने भन्दै सकारात्मक सन्देश दिएका छन्।
पूर्वकप्तान मल्लले क्रिकेट मैदानबाट सिकेको अनुभवलाई राजनीतिसँग जोड्दै आफू टिमको ११ जनाभित्र रहे पनि वा नरहे पनि देशले जित्नुपर्ने कुरामा जोड दिएका छन्। उनका अनुसार खेलकुदमा जस्तै राजनीतिमा पनि व्यक्तिगत रेकर्डभन्दा टिमको जित—अर्थात् जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्य—मुख्य लक्ष्य हुनुपर्छ।
मल्लले निर्वाचनमा आफ्नो अमूल्य मत दिएर परिवर्तनको पक्षमा उभिएका सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन्। साथै रास्वपा परिवार, कुमार बेन तथा बालेन शाह प्रति विशेष कृतज्ञता व्यक्त गरेका छन्।
पद प्राप्तिको विषयलाई सामान्य रूपमा लिँदै उनले आफू सदनमा रहे पनि वा सडकमा रहे पनि सधैँ देशको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले लेखेका छन्: “क्रिकेटबाट मैले सिकेको कुरा—‘मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन।’
खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर काम गर्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्नुहुने सम्पूर्ण आदरणीय मतदाताहरूमा हृदयदेखि नै धन्यवाद। मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेन जी प्रति विशेष कृतज्ञता व्यक्त गर्दछु।
म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो।”
प्रतिक्रिया दिनुहोस्