Ads

‘जेरी गल्ली’को क्रेजसँगै पर्यटकको रोजाइमा मार्फा, संस्कृति र प्रकृतिको अनुपम संगम


मुस्ताङ भ्रमणमा जाने पर्यटकहरूका लागि मार्फा गाउँ अहिले आकर्षणको केन्द्र बनेको छ। एकैनासका सेता घर, ढुङ्गाले छापिएका पदमार्ग र मौलिक थकाली बस्तीबीच पर्यटकहरू बिहानदेखि साँझसम्म तस्बिर तथा भिडियो खिच्दै रमाइरहेका देखिन्छन्।

विशेषगरी गाउँको बीचमा रहेको ‘जेरी गल्ली’ पर्यटकको मुख्य आकर्षण बनेको छ। जेरी र कबड्डी जस्ता चलचित्रको छायांकनपछि यो क्षेत्र चर्चामा आएको हो। पहिले भक्तिगल्लीका रूपमा चिनिने यो स्थान अहिले ‘जेरी गल्ली’ नामले परिचित छ, जहाँ दैनिक सयौँ पर्यटक फोटो, भिडियो र टिकटक बनाउन व्यस्त देखिन्छन्।

सामाजिक सञ्जालमा भाइरल बनेपछि यहाँको लोकप्रियता झनै बढेको स्थानीयवासी बताउँछन्। पर्यटकहरूले हिमाली पोसाक ‘बख्खु’ लगाएर परम्परागत बस्तीभित्र घुम्दै तस्बिर खिच्ने ट्रेन्ड बढेको छ। स्थानीय व्यवसायीहरूले बख्खु भाडामा उपलब्ध गराउँदै थप आम्दानी गरिरहेका छन् भने याकको डमीमा चढेर तस्बिर खिचाउने सुविधा पनि पर्यटकका लागि आकर्षण बनेको छ।

‘स्याउको राजधानी’का रूपमा परिचित मार्फा प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरले भरिपूर्ण छ। कालीगण्डकी नदी किनारमा फैलिएको हरियाली स्याउबारी, वरिपरिका सुक्खा पहाड र हिमाली परिवेशले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गर्छ। वसन्तमा फुल्ने स्याउका फूल र शरद ऋतुमा लटरम्म फल लागेका बगैँचाले यहाँको दृश्य झनै मनमोहक बनाउँछ।

मार्फाको मौलिकता जोगाउन स्थानीयले विशेष ध्यान दिएका छन्। सेतो र रातो माटोले लिपिएका घर, माटोकै छाना र छानामाथि दाउरा राख्ने परम्परा अझै कायम छ। थकाली समुदायको रहनसहन, संस्कृति, गुम्बा र गुफाहरूले गाउँलाई सांस्कृतिक रूपमा समृद्ध बनाएको छ। सम्तेलिङ गुम्बा र करिब तीन सय वर्ष पुरानो भीर गुम्बा धार्मिक तथा ऐतिहासिक सम्पदाका रूपमा परिचित छन्।

पर्यटकको सुविधा बढाउन स्थानीय तहले गल्लीहरूलाई विभिन्न नाम दिँदै साइनबोर्ड राख्ने, विद्युत्का तार भूमिगत गर्ने र रातमा उज्यालो बनाउने काम गरिरहेको छ। अमरसिङ, लुक्ने, बुद्ध, झाँक्री, धौलागिरी बेसक्याम, जेरी, ढाक्रे, कमेडियन र स्ट्रेस फ्री जस्ता नामकरणले गाउँलाई थप रोचक बनाएको छ।

कृषि र पर्यटनलाई जोडेर विकास भइरहेको मार्फामा स्याउ उत्पादन मुख्य आम्दानीको स्रोत हो। यहाँ उत्पादन हुने स्याउ, ब्रान्डी, सिमी, फापर, आलु लगायतका स्थानीय उत्पादन पर्यटकले कोसेलीका रूपमा लैजाने गरेका छन्।

पर्यटन पूर्वाधार विस्तारसँगै अहिले मार्फामा २० भन्दा बढी होटेल सञ्चालनमा छन्। मुस्ताङ भ्रमणमा आउने अधिकांश पर्यटकले मार्फा नछुटाउने गरेका छन्। प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र चलचित्रले दिएको पहिचानको संयोजनले मार्फा अहिले नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

Ads

सम्बन्धित पोष्टहरू