काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका छन् । भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताए । उनले भ्रष्टाचार बिरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको समेत बताए । प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको बताए ।
उनले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै एकजुट हुन आवश्यक भएको बताए । समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यकाबिरुद्धमा आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि बताए ।
भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीन वटै तहबाट राष्ट्रिय कार्ययोजना कार्यान्वयन भइरहेको बताए । उनले भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियान सञ्चालनको खाँचो रहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि कानून संशोधन गर्न आवश्यक भए सरकार तयार रहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस्