नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गुरु बराललाई सभामुख पदमा उठाउने तयारी गरेको छ।
एमाले सांसद ऐन महरका अनुसार विपक्षीले उम्मेदवारी दिए समर्थन गर्ने, नदिए आफ्नै दलबाट उम्मेदवार उठाउने समझदारी बनेको हो।
‘विपक्षीले दिए समर्थन गर्छौं, नभए हामी आफैँ उम्मेदवारी दिन्छौँ,’ उनले बताए। उनका अनुसार आज बस्ने सचिवालय बैठकपछि अन्तिम निर्णय हुनेछ र बराललाई अगाडि सार्ने तयारी छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। रास्वपासँग झण्डै दुईतिहाइ मत भएकाले अर्यालको जित लगभग सुनिश्चित देखिन्छ।
एमालेले भने संसदीय मर्यादा कायम राख्न विपक्षीले पनि उम्मेदवारी दिनुपर्ने बताएको छ। ‘कुनै दलले बहुमत ल्यायो भन्दैमा प्रक्रिया छोड्नु हुँदैन,’ महरले जोड दिए।
उता नेपाली कांग्रेस ले भने सभामुख उम्मेदवारबारे अझै निर्णय गरिसकेको छैन, तर उम्मेदवारी नदिने सम्भावना बलियो देखिएको छ।
प्रतिक्रिया दिनुहोस्