Ads

प्रधानमन्त्री शाहद्वारा श्रममन्त्री दिपककुमार साह पदमुक्त


प्रधानमन्त्री बालेन शाहले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्री शाहले नेपाल समाजवादी पार्टी (रास्वपा) को सिफारिसअनुसार साहलाई मन्त्री पदबाट हटाउने निर्णय लिएका हुन्।

रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले आफ्नो पदको दुरुपयोग गर्दै श्रीमतीलाई लामो समय निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यको रूपमा नियमित काममा संलग्न गराएको भन्दै कारबाहीको सिफारिस गरेका थिए। यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टी समक्ष पेश गरेको थियो।

सिफारिसमा भनिएको छ कि मन्त्री साहको क्रियाकलापले पार्टीको छवि, आदर्श, सिद्धान्त र पदीय मर्यादामा गम्भीर असर पार्ने देखिएको छ। रास्वपा विधानको धारा २५(४)(क) अनुसार सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा असर नपर्ने सुनिश्चित गर्ने जिम्मेवारी सुम्पिएको छ। त्यस्तै, धारा ६९ को व्यवस्था (राइट टु रिकल) अनुसार पदको दुरुपयोग हुँदा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने प्रावधानमा साहलाई पदमुक्त गर्न सिफारिस गरिएको थियो।

त्यस्तै, रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरेका थिए। प्रधानमन्त्री शाहले सोही सिफारिसको आधारमा मन्त्री मेहतालाई सचेत गराइसकेका छन्।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले यो निर्णयको जानकारी दिँदै यसको आधार र प्रक्रियाबारे प्रकाश पारेकी छन्।

Ads

सम्बन्धित पोष्टहरू