राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओली ले प्रतिनिधिसभा सरकारको कठपुतली नभएको बताएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाका तर्फबाट बोल्दै उनले सरकारले संसद्लाई बेवास्ता गरेको जस्तो देखिएको टिप्पणी गरिन् ।
उनले भनिन्, “तत्कालीन अवस्थामा यो विधेयक नितान्त आवश्यक रूपमा देखिए पनि प्रक्रियागत रूपमा प्रतिनिधिसभालाई सरकारले बेवास्ता गरेको हो कि भन्ने देखिन्छ । प्रतिनिधिसभालाई छायामा पारिएको हो कि भन्ने भान हुन्छ । प्रतिनिधिसभा सरकारको कठपुतली होइन ।”
सांसद ओलीले संविधानले बाध्यात्मक अवस्थामा मात्रै अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको स्मरण गराउँदै सरकारले त्यसको दुरुपयोग गर्न नहुने बताइन् ।
त्यस्तै, सुकुम्बासी समस्याप्रति सरकार संवेदनशील नदेखिएको आरोप पनि उनले लगाइन् । सुकुम्बासीको जीवन संकटमा पर्दासमेत सरकारका तर्फबाट समवेदना वा स्पष्ट धारणा नआएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्