Ads

१४ औं महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई केन्द्रीय कमिटीमा मानका साथ राख्न तयार छु: गगन थापा


नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएका सबै नेताहरूलाई समेटेर अघि बढ्न आफू तयार रहेको बताएका छन्। विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैप्रति विभेद नगर्ने उनको प्रतिबद्धता छ।

आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो पङ्क्ति पार्टीको मूल संरचनाभन्दा बाहिर रहेको उल्लेख गर्दै उनीहरूलाई सम्मानपूर्वक जिम्मेवारीसहित समेट्न चाहेको बताए।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई केन्द्रीय समितिमा ल्याएर सँगै काम गर्ने प्रस्ताव आफ्नो रहेको स्पष्ट पारे। “वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता र अन्यलाई यथोचित जिम्मेवारी दिन तयार छु,” उनले भने, “विशेष महाधिवेशनमा आएको थियो वा थिएन भन्ने आधारमा अवसरको वितरण हुँदैन, कुनै निर्णय पनि त्यसकै आधारमा गरिँदैन।”

थापाले पार्टीको आगामी महाधिवेशनका लागि गठन गरिने विभिन्न समितिहरूमा पनि निष्पक्षता कायम गरिने बताए। समितिमा को–कोलाई राख्दा न्यायोचित हुन्छ भन्ने विषयमा आफू लचक रहेको उल्लेख गर्दै उनले इच्छुक नेताहरूलाई जुनसुकै माध्यमबाट आफ्नो नाम पठाउन आग्रह गरे।

उनको भनाइलाई कांग्रेसभित्र सबै पक्षलाई समेटेर सहमतिका आधारमा नेतृत्व अघि बढाउने संकेतका रूपमा हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू