Ads

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई विशेष आग्रह


आगामी गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा बालेन्द्र शाह ले सम्बोधन नगर्ने भएका छन्।

प्रधानमन्त्री शाहले रामचन्द्र पौडेल लाई गणतन्त्र दिवस समारोहमा विशेष सम्बोधन गर्न आग्रह गर्दै पत्र पठाएका छन्। मन्त्रिपरिषद् बैठकबाटै राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गराएर प्रधानमन्त्री शाहले उक्त सिफारिस राष्ट्रपति कार्यालय पठाएका हुन्।

राष्ट्रपतिलाई पठाइएको पत्रमा संविधानको धारा ६६ को उपधारा (२) बमोजिम जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिन आग्रह गरिएको उल्लेख छ।

संविधानको धारा ६६ को उपधारा (२) अनुसार राष्ट्रपतिबाट सम्पादन हुने कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने व्यवस्था छ। सोही संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीमार्फत सिफारिस पठाइएको स्रोतको भनाइ छ।

प्रधानमन्त्री शाहले यसअघि पनि गणतन्त्रका प्रतीक राष्ट्रपतिलाई नै गणतन्त्र दिवस समारोहको मुख्य सम्बोधन गराउनुपर्ने धारणा अनौपचारिक रूपमा राख्दै आएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव सुमनराज अर्याल ले समेत राष्ट्रपति कार्यालयलाई प्रधानमन्त्री शाह गणतन्त्र दिवसमा सम्बोधन गर्न इच्छुक नरहेको जानकारी गराएको बताइएको छ।

यससँगै अब गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने पुरानो प्रचलन अन्त्य हुने संकेत देखिएको छ।

Ads

सम्बन्धित पोष्टहरू