Ads

गरिबी हटाउने होइन, गरिबलाई हटाउने सोचमा सरकार : गगन थापा


नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत तथा नीतिगत सुधारका प्रयास अघि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्।

नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका केही विषय समेटिनु सकारात्मक पक्ष भएको बताए। ती सुधार कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा प्रतिपक्षको भूमिकाबाट सहयोग गर्न कांग्रेस तयार रहेको उनको भनाइ थियो।

तर बजेट र सरकारको कार्यशैलीले गरिबी निवारणभन्दा ‘गरिब मास्ने’ प्रवृत्ति देखाएको आरोप उनले लगाए। आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन थप कष्टकर बन्दै गए पनि सरकारले उनीहरूका समस्याप्रति पर्याप्त संवेदनशीलता नदेखाएको थापाको भनाइ छ।

सामाजिक सञ्जालमा सरकारका केही निर्णयको प्रशंसा भइरहेको उल्लेख गर्दै उनले प्रतिपक्षको दायित्व सस्तो लोकप्रियताको पछि लाग्नु नभई राज्यका स्रोत–साधन र नीतिमा सबै वर्गको समान पहुँच सुनिश्चित गर्नु रहेको बताए।

थापाले सरकारको नियतमाथि प्रश्न उठाउँदै भने, “राज्यको प्रवृत्ति गरिबी हटाउनेभन्दा गरिबलाई नै हटाउने जस्तो देखिन्छ। गरिबीको वास्तविक समस्या समाधान नगरी गरिबलाई नै विस्थापित गर्ने सोचले देशलाई सही दिशामा लैजान सक्दैन। हिजोको बजेटमा पनि हामीले यही प्रवृत्ति देख्यौं।”

Ads

सम्बन्धित पोष्टहरू