प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।
सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान कमजोर बनाएको निष्कर्ष निकाल्दै क्षमायाचनासहित उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने निर्णय गरेको हो।
बैठकपछि पद्मा अर्याल ले प्रधानमन्त्रीको भनाइले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच पुगेको र नेपाली जनताको भावना आहत भएको बताइन्। उनले नेपाल राष्ट्रको स्थापित नीतिविपरीत आएको अभिव्यक्ति नसच्चिएसम्म संसद्मा विरोध जारी रहने चेतावनीसमेत दिइन्।
विपक्षी दलहरूले संसद्लाई एकपक्षीय ढंगले अघि बढाइएको भन्दै आपत्ति जनाएका छन्। अर्यालले संसद्का सबै सदस्यको अपनत्व हुने गरी नियमावली पारित हुनुपर्नेमा प्रतिपक्षका सुझाव बेवास्ता गरिएको आरोप लगाइन्। उनका अनुसार प्रतिपक्षी दलहरूले उठाएका कुनै पनि विषय नियमावलीमा समेटिएका छैनन्।
त्यसैगरी कांग्रेसका सचेतक निश्कल राई ले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै संसद्मा आएर स्पष्ट पार्नुपर्ने बताए। उनले प्रधानमन्त्रीको भनाइ सही भए त्यसबारे नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने र गलत भए संसद्मा माफी माग्नुपर्ने धारणा राखे।
राप्रपाका प्रमुख सचेतक खुश्बु ओली ले पनि सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले पुनः संसद्मा उपस्थित भएर आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्