भारत भ्रमणमा रहेका रवि लामिछाने र नितिन नबीन बीच मंगलबार दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा नबीनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धको चर्चा गर्दै यस्ता राजनीतिक संवादले दुई देशका राजनीतिक दलहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
छलफलमा नबीनले भाजपाको स्थापना कालदेखि हालसम्मको यात्रा, पार्टीको विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक अभ्यासबारे जानकारी गराएका थिए। जवाफमा लामिछानेले सदस्यता वितरण प्रणाली, उम्मेदवार छनोट प्रक्रिया तथा तल्लो तहका कार्यकर्तासँग पार्टीको सम्बन्धबारे चासो राखेका थिए।
भाजपाका अनुसार नबीनले पार्टीको संगठनात्मक बल बुथस्तरको सक्रियता, निरन्तर जनसम्पर्क र लोकतान्त्रिक प्रक्रियामा नागरिकको सहभागितामा आधारित रहेको बताएका थिए। साथै नरेन्द्र मोदी नेतृत्वको विकासमुखी सुशासन र जनकल्याणकारी कार्यक्रमलाई भाजपाको जनसमर्थनको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका थिए।
दुई नेताबीच राजनीतिमा ‘जेनजी’ पुस्ताको बढ्दो प्रभाव, लोकतान्त्रिक सहभागिता तथा भावी नेतृत्व निर्माणका विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।
बैठकमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह, सांसद सञ्जय जैसवाल, सांसद बन्सुरी स्वराज तथा वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवाले लगायतका नेताहरू सहभागी थिए।
भेटपछि रास्वपाको टोलीले भाजपाको मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको अवलोकन गरेको थियो। कार्यक्रमको समापन दिवाभोजसहित गरिएको थियो, जहाँ रेखा गुप्ता, मनोज तिवारी, प्रविण खण्डेलवाल, हर्ष मल्होत्रा र रामवीर सिंह बिधुरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्