Ads

अप्ठ्यारो परिस्थितिमा झोला फ्याँकेर भाग्दिनँ, पार्टीलाई सफलतामा पुर्‍याएर मात्र विश्राम लिन्छु: ओली


नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको बेला आफूले तत्काल नेतृत्व नछाड्ने स्पष्ट पार्नुभएको छ।

अनुकूल अवस्थामा मात्रै नेतृत्व गर्ने र संकट आउँदा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको उहाँको भनाइ छ।

बुधबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अवसरवादी राजनीतिक चरित्रको आलोचना गर्नुभयो। “अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन। त्यसका निम्ति होइन,” उहाँले भन्नुभयो।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले आफूलाई पार्टी अध्यक्षका रूपमा चुनिनुको मूल उद्देश्य नै कठिन परिस्थितिमा पार्टी र आन्दोलनको नेतृत्व गर्नु रहेको बताउनुभयो। जस्तोसुकै परिस्थिति आए पनि त्यसको सामना गर्न आफू तयार रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। अप्ठ्यारो अवस्था आएकै छ, त्यसको सामना गर्न तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो।”

उहाँले कठिन परिस्थितिमा जिम्मेवारीबाट भाग्ने सोच आफ्नो शब्दकोशमै नरहेको बताउँदै अवसरको लाभ लिने तर चुनौती आउँदा मैदान छोड्ने प्रवृत्तिलाई पार्टीभित्र प्रश्रय नदिइने संकेत गर्नुभयो।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई आफूले बीचमै नेतृत्व छाड्ने आशंका गरेर चिन्तित नहुन समेत आग्रह गर्नुभयो। “मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने आशंका मनमा नलिनुहोला,” कार्यकर्तालाई आश्वस्त पार्दै उहाँले थप्नुभयो, “म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, सफलतामा पुर्‍याएर अनि विश्राम लिनुपर्ने अवस्था आयो भने पार्टीका विधान, विधि र प्रक्रियाअनुसार विश्राम लिने स्थिति बन्छ।”

कार्यक्रममा नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो, जहाँ ओलीले पार्टीको आन्तरिक एकता र आगामी कार्यदिशाबारे समेत चर्चा गर्नुभएको थियो।

Ads

सम्बन्धित पोष्टहरू