ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लामो समयदेखि देखिएको आन्तरिक विवादले नयाँ मोड लिएको छ। पार्टीका महामन्त्री धवलशमशेर राणा सहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्।
उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूले संयुक्त रूपमा पार्टी छाडेको घोषणा गर्दै मूल नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले नेतृत्वको कमजोरी, आत्मकेन्द्रित प्रवृत्ति र वैचारिक विचलनका कारण पार्टीका सम्भावनाहरू कमजोर बन्दै गएको आरोप लगाएका छन्।
राणा पक्षले सार्वजनिक गरेको पत्रमा पार्टी नेतृत्वले एकता महाधिवेशनको म्यान्डेट तथा पार्टीको मूल वैचारिक लाइनलाई बेवास्ता गरेको उल्लेख गरिएको छ। केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टी नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने सरकारको न्यूनतम साझा कार्यक्रममा सहभागी बनेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।
पत्रमा प्रश्न गरिएको छ, “संवैधानिक राजसंस्था पुनर्स्थापनाको लक्ष्य लिएको पार्टीको नेतृत्व गणतन्त्र सुदृढीकरणतर्फ किन अग्रसर भयो ? पार्टीको आधिकारिक नीति र महाधिवेशनको निर्णयविपरीत जानुपर्ने के बाध्यता थियो ?”
राणा पक्षले पार्टीका वैधानिक निकायहरूमा पटकपटक उठाइएका प्रश्नहरूको नेतृत्वबाट स्पष्ट जवाफ नआएको दाबी गरेको छ। साथै, जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन नगरिएको, तथा राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू कमजोर बनाउन नेतृत्व स्वयं सक्रिय रहेको आरोप पनि लगाइएको छ।
यो घटनाले राप्रपाभित्रको आन्तरिक असन्तुष्टि थप सतहमा ल्याएको छ। आगामी दिनमा यसले पार्टीको संगठनात्मक संरचना, नेतृत्व र राजनीतिक दिशामाथि कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।
प्रतिक्रिया दिनुहोस्