राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धिताल ले नेपाल-भारत सीमा विवाद समाधानका लागि भइरहेको कूटनीतिक पहललाई राष्ट्रघातको रूपमा चित्रण नगर्न आग्रह गरेकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाह ले संसदमा सीमा समस्यासम्बन्धी दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा पक्ष-विपक्षमा बहस चर्किरहेका बेला धितालले समाधानका प्रयासलाई नकारात्मक रूपमा व्याख्या गर्नु उचित नहुने बताएकी हुन्।
धितालले सीमा सम्बन्धी विषय नेपालका लागि अत्यन्त संवेदनशील, भावनात्मक तथा दशकौँदेखि समाधान हुन नसकेको राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको बताइन्। उनका अनुसार विगतका सरकारहरूले पनि छिमेकी राष्ट्रसँग विभिन्न तहमा संवाद, समझदारी र सम्झौताहरू गरेका थिए, जसको मूल्यांकन राष्ट्रिय हितका आधारमा निष्पक्ष ढंगले हुनुपर्छ।
‘अघिल्ला सरकारहरूको पालामा वार्ता त परको कुरा, उच्चस्तरीय राजनीतिक भ्रमणसमेत हुन नसकेको अवस्था थियो । अहिले कम्तीमा संवाद र वार्तामार्फत समाधान खोज्ने वातावरण बनेको छ,’ धितालको भनाइ उद्धृत गर्दै रास्वपाले जनाएको छ।
उनले दशकौँ पुरानो सीमा विवाद कुनै एक अभिव्यक्ति, एक भ्रमण वा एक बैठकबाट समाधान नहुने स्पष्ट पारिन्। यस्ता जटिल विषय समाधानका लागि राजनीतिक, प्राविधिक र कूटनीतिक तहमा निरन्तर छलफल र समझदारी आवश्यक पर्ने उनको भनाइ छ।
सीमा विवाद समाधानको चरणमा पुग्दा राजनीतिक बहस, संसदीय विमर्श र सार्वजनिक चासो बढ्नु स्वाभाविक भए पनि यस्ता विषयमा धैर्य, संयम र विश्वास आवश्यक हुने धितालले बताइन्। उनले प्रधानमन्त्रीलाई समयअघि नै खलनायक घोषणा गर्ने, नागरिकमा शंका र अविश्वास फैलाउने तथा हरेक कूटनीतिक प्रयासलाई राष्ट्रघातको दृष्टिले हेर्ने प्रवृत्तिले समाधानभन्दा अवरोध सिर्जना गर्ने जिकिर गरिन्।
धितालले रास्वपाको नेतृत्व तथा सरकारबाट राष्ट्रहितविपरीत कुनै सम्झौता नहुने दाबी गर्दै राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको हितभन्दा माथि कुनै स्वार्थ हुन नसक्ने बताइन्।
दशकौँसम्म सत्ता सञ्चालन गरेर पनि समस्या समाधान गर्न नसकेकाहरूले समाधानको प्रयास गरिरहेकाहरूलाई विश्वास गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले सीमा विवादजस्तो जटिल विषयको मूल्यांकन तत्कालीन अभिव्यक्ति वा भ्रमणका आधारमा नभई समग्र प्रक्रिया र त्यसको परिणामका आधारमा गर्नुपर्ने धारणा व्यक्त गरिन्।
उनले भावनात्मक उत्तेजना फैलाएर ‘खोक्रो राष्ट्रवाद’को राजनीति गर्नुको सट्टा कूटनीतिक प्रक्रियालाई समय दिनुपर्ने बताउँदै राष्ट्रिय मुद्दाहरूको समाधानका लागि समय, संयम र विश्वास अपरिहार्य रहने निष्कर्ष प्रस्तुत गरिन्।
प्रतिक्रिया दिनुहोस्