सरकारमा महत्वपूर्ण फेरबदल गर्दै गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त हुने निश्चित भएको छ भने विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनले पाउने भएका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुवै मन्त्रीको नियुक्तिसम्बन्धी औपचारिक पत्र राष्ट्रपति कार्यालयमा प्राप्त भइसकेको छ। सोही आधारमा आज दिउँसो ३ बजेपछि शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ।
राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, “दुई मन्त्रीको शपथसम्बन्धी औपचारिक पत्र हामीकहाँ आइसकेको छ। आवश्यक तयारी अघि बढाइएको छ। मन्त्रिपरिषद् बैठक सम्पन्न भएलगत्तै पत्र प्राप्त भएको हो।”
सुधन गुरुङको गृहमन्त्रालयमा पुनरागमन र प्रविधि तथा नवप्रवर्द्धन क्षेत्रमा लामो समयदेखि सक्रिय महावीर पुनको मन्त्रिपरिषद् प्रवेशलाई सरकारको नयाँ राजनीतिक तथा नीतिगत सन्देशका रूपमा हेरिएको छ।
शपथग्रहणपछि दुवै मन्त्रीले आ-आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्