Ads

हर्कको पुरानै अडान : प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नै पर्छ


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको विवादित अभिव्यक्तिका विषयमा माफी नमागेसम्म प्रतिनिधिसभाको गतिरोध अन्त्य नहुने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा समय लिएर बोल्दै राईले प्रधानमन्त्रीले गत जेठ १७ गते दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र त्यसका लागि संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने माग दोहोर्‍याए।

उनले आफ्नो दल सदनका अन्य कार्यसूचीमा प्रवेश गर्न तयार रहेको स्पष्ट पार्दै विवादित अभिव्यक्तिको विषय भने सम्बोधन हुनैपर्ने बताए।

‘हामी सदन चलाउन तयार छौँ। तर हाम्रो माग एउटै छ, जेठ १७ गते प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ। प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ,’ राईले भने।

संसद्को कार्य सञ्चालन नियमावलीअनुसार नै बैठक अघि बढाइनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै उनले त्यसलाई सच्याउन आवश्यक रहेको बताए।

राईले आफ्ना माग सम्बोधन भए सदनको नियमित कामकारबाही अघि बढाउन आफूहरू तयार रहेको समेत उल्लेख गरे।

Ads

सम्बन्धित पोष्टहरू