नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल ले पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल माथि वैचारिक विचलन, गुटबन्दी, पूर्वाग्रह र नैतिक संकटका गम्भीर आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्र पठाएका छन्।
पार्टी एकता भएको करिब सात महिना बितिसक्दा पनि आफूलाई कुनै जिम्मेवारी नदिई पूर्ण रूपमा निष्क्रिय बनाइएको भन्दै खनालले नेतृत्वको नियतमाथि नै प्रश्न उठाएका छन्। उनले आफ्नो लामो राजनीतिक अनुभव र कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको बेवास्ता गर्दै अपमानजनक व्यवहार गरिएको आरोप लगाएका छन्।
खनालले एकतापूर्व भएका वैचारिक सहमतिहरू नेतृत्वले उल्लंघन गरेको दाबी गरेका छन्। एकता अघि दाहालसँग मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने तथा वैज्ञानिक समाजवादलाई लक्ष्य बनाउनेलगायत विषयमा सहमति भए पनि त्यसबाट नेतृत्व विचलित भएको उनको आरोप छ।
पत्रमा खनालले दाहाल माधव नेपालको प्रभाव र दबाबमा परेको आरोपसमेत लगाएका छन्। उनले माधव नेपालले पार्टीभित्र मतभिन्नता राख्ने नेता–कार्यकर्ता तथा युवाहरूलाई योजनाबद्ध रूपमा पाखा लगाएको र त्यसलाई सच्याउने प्रतिबद्धता भए पनि कार्यान्वयन नभएको बताएका छन्।
भ्रष्टाचार मुद्दाको सामना गरिरहेका माधव नेपाललाई नयाँ पार्टीको सहसंयोजक बनाइएको विषयलाई पनि खनालले नैतिकताको संकटका रूपमा चित्रण गरेका छन्। उनले एमाले विभाजनदेखि नयाँ पार्टी निर्माणसम्मका निर्णयहरू पद प्राप्तिको स्वार्थबाट प्रेरित भएको आरोप लगाएका छन्।
साविक नेकपा विभाजनको प्रसंग उठाउँदै खनालले विगतमा गरिएको राजनीतिक र संगठनात्मक कमजोरीका कारण लाखौँ कार्यकर्ता प्रभावित भएको टिप्पणी गरेका छन्। साथै, पार्टीमा ‘बहुदलीय जनवाद’को विचार भित्र्याएर सैद्धान्तिक विचलन गराइएको आरोप पनि उनले लगाएका छन्।
प्रचण्डले जनयुद्धकालीन विचारधाराबाट क्रमशः पछि हट्दै ‘प्रजातान्त्रिक समाजवाद’सम्म पुगेको भन्दै खनालले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेका छन्। आफूसँग कुनै छलफल नगरी अन्तरिम विधानमा बहुदलीय जनवाद र प्रजातान्त्रिक समाजवादलाई समावेश गरेर धोखा दिइएको आरोपसमेत उनले लगाएका छन्।
पत्रको अन्त्यमा खनालले पार्टीभित्र आफूलाई “खोरमा थुनिएजस्तो अनुभूति” भइरहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, नैतिकता र आन्तरिक लोकतन्त्रबिना क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण सम्भव नहुने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्