सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक महेश्वर दाहालले वरिष्ठ कम्युनिस्ट नेता झलनाथ खनाल को पुस्तक ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद !’ ले नेपाली कम्युनिस्ट आन्दोलनभित्र नयाँ वैचारिक बहसको सुरुआत गरेको बताएका छन्।
पुस्तकमाथि समीक्षा प्रस्तुत गर्दै दाहालले उक्त कृतिलाई केवल बहुदलीय जनवादको आलोचनात्मक दस्तावेजका रूपमा नभई कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा, वैचारिक पुनःस्थापना र भविष्यको मार्गनिर्देशन गर्ने गम्भीर राजनीतिक हस्तक्षेपका रूपमा व्याख्या गरे।
उनले पुस्तकले आन्दोलनभित्र वर्षौंदेखि दबिएर रहेका प्रश्नहरूलाई सतहमा ल्याएको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलन किन अपेक्षित लक्ष्यमा पुग्न सकेन, किन जनविश्वास कमजोर हुँदै गयो र किन ऐतिहासिक अवसरहरू खेर गए भन्ने विषयमा लेखकले निर्भीक ढंगले बहस उठाएको बताए।
दाहालका अनुसार पुस्तकको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै लेखकले आफ्नै राजनीतिक धाराको कमजोरीमाथि गरेको स्पष्ट आत्मसमीक्षा हो। नेतृत्वमा देखिएको व्यक्तिवाद, गुटबन्दी, वैचारिक विचलन र सत्ता–केन्द्रित प्रवृत्तिलाई खनालले खुला रूपमा समीक्षा गरेको उल्लेख गर्दै उनले यस्तो आत्मालोचनात्मक दृष्टिकोण नेपाली कम्युनिस्ट आन्दोलनमा विरलै देखिने बताए।
उनले २०७४ सालपछि बनेको शक्तिशाली कम्युनिस्ट सरकारसँग मुलुकको राजनीतिक, आर्थिक र सामाजिक संरचनामा दूरगामी परिवर्तन गर्ने ऐतिहासिक अवसर रहेको स्मरण गराए। तर नेतृत्व तहमा बढेको शक्ति संघर्ष, व्यक्तिकेन्द्रित राजनीति र वैचारिक अस्पष्टताका कारण त्यो अवसर गुमेको निष्कर्ष पुस्तकले प्रस्तुत गरेको उनको भनाइ थियो।
दाहालले पुस्तकले वैज्ञानिक समाजवादलाई पुनः आन्दोलनको केन्द्रमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउँदै कम्युनिस्ट आन्दोलनले आफ्नो मूल वैचारिक धरातलबाट विचलित हुँदा उत्पन्न भएका संकटहरूको गम्भीर समीक्षा गरेको बताए।
यद्यपि उनले बदलिँदो विश्व व्यवस्था, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, स्वचालन, प्लेटफर्म अर्थतन्त्र र गिग अर्थतन्त्रले श्रम तथा उत्पादन सम्बन्धमा ल्याइरहेका परिवर्तनबारे अझ विस्तृत विश्लेषण समेटिएको भए पुस्तक अझ सशक्त बन्ने टिप्पणी गरे।
दाहालका अनुसार पुस्तकको अर्को महत्वपूर्ण सन्देश पुरानो नेतृत्वको पुनरावृत्तिबाट मात्र आन्दोलनको पुनर्जागरण सम्भव नहुने भन्ने हो। कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा दिन सक्षम, दूरदर्शी, वैचारिक रूपमा स्पष्ट र युवापुस्ताको नेतृत्व अगाडि ल्याउनुपर्ने आवश्यकता कृतिले स्पष्ट रूपमा उठाएको छ।
उनले निष्कर्षमा भने, “यो पुस्तक विगतका कमजोरीहरूको लेखाजोखा मात्र होइन, कम्युनिस्ट आन्दोलनको भविष्यबारे गम्भीर बहस सुरु गर्ने वैचारिक दस्तावेज हो। यसले नयाँ पुस्तालाई प्रश्न गर्न, सोच्न र बदलिँदो विश्व परिस्थितिअनुसार समाजवादी विकल्प खोज्न प्रेरित गर्छ।”
दाहालले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद !’ लाई नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट, सम्भावना र भविष्यको दिशामाथि गम्भीर विमर्श गर्ने महत्वपूर्ण कृतिका रूपमा चित्रित गरेका छन्।
प्रतिक्रिया दिनुहोस्