Ads

एमाले र माओवादी मिलेर नयाँ सरकार बन्न सक्ने सम्भावनाले एकाएक राजनीतिमा चर्चा


काठमाडौं । गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको प्रधानमन्त्री नपाए कांग्रेससँगको यात्रा अहिलेलाई टुंगिने संकेत शेरबहादुर देउवाले बुझ्नेगरी दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार शीतल निवास र बिहीबार संसद भवनमा देखिएको हार्दिक र बडी ल्याङ्ग्वेजको पछाडि केही नेताको लबिङले काम गरिरहेको उच्च स्रोतले जनाएको छ । चीनबाट फर्किएलगत्तै माओवादी केन्द्रका उपमहासचिव तथा पार्टीभित्र निर्णायक हैसियत राख्ने नेता वर्षमान पुनले एमालेसँग मिलेर सरकार गठन गर्ने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रयास थालेका छन् ।

एमालेका नेताहरुसँग पुनले यसअघि नै कम्युनिष्टहरु फेरि मिल्नुको विकल्प नरहेको भन्दै आएका थिए । पुन चीनबाट फर्किएलगत्तै एमाले र माओवादीसहितको सरकार बन्न सक्ने सम्भावनाले एकाएक राजनीतिमा चर्चा पाएको छ ।

चीनले नेपालमा एमाले र माओवादी मिलेर सरकार बनाऊन् भन्ने चाहना राख्नु नयाँ होइन । यसपटक वर्षमान पुनले चिनियाँ उच्च अधिकारीहरुसँग भेटेको आधिकारिक जानकारी दुवैतिरबाट सार्वजनिक गरिएको पनि छैन । तर, यसै साता चिनियाँहरुको एउटा टोली काठमाडौंसमेत आएको थियो ।

नेपाल अहिले भूराजनीतिक रुपले संवेदनशील ठाउँमा छ । ‘इण्डो अमेरिकन’ लबी यही गठबन्धनको सरकार कायम राख्न सक्रिय भइरहेका वेला प्रचण्डलाई कांग्रेससँगको सहकार्यबाट बाहिर निकाल्न माओवादी केन्द्रकै प्रभावशाली नेताहरु लागिपरेका छन् ।

कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री माओवादीलाई दिन चाहेको छैन र राष्ट्रपति पनि दिन मानिरहेको छैन । प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री पाएर सम्मानजनक शक्ति बाँडफाँट नभए गठबन्धनको यात्रा यही टुंगिने प्रस्ट सन्देश देउवालाई दिएको निकट नेताहरुले बताएका छन् ।

वर्षमानसँगै छलफलमा रहेका एक नेताले भने, ‘हामी भूराजनीतिक संकटमा फस्दैछौं र माओवादी ठूलो संकटमा छ । अब कोर्स करेक्सन गर्नुपर्छ र एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री बन्ने अनि एमालेले राष्ट्रपति तथा सभामुख लिएर जानुपर्छ भन्ने कुरा भएको छ । प्रचण्ड एकप्रकारले कन्भिन्स हुनुहुन्छ ।’

कांग्रेसको चुनावी गठबन्धनबाट माओवादीले फाइदा लिन नसकेको र माओवादीको भोटले कांग्रेसले धेरै ठाउँ जितेको निष्कर्ष नेताहरुको छ । वर्षमानलाई निर्णायक पहल गरेर प्रचण्डलाई बाहिर निकाल्न जिम्मा दिइएको एक स्थायी कमिटी सदस्यले बताए ।

‘हाम्रो भोटले उनीहरु जितेर पहिलो पार्टी भए । तर, हामीलाई खासै फाइदा भएन । यो यात्रा जारी राख्दा माओवादी पार्टी अर्को चुनावसम्म निर्णायक हैसियतमा रहँदैन’, उनले भने ।

पुनले औपचारिक रुपमा अहिलेसम्म सत्ता समीकरणबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर, कांग्रेससँगको सहकार्यबाट माओवादी निरन्तर ओरालोमात्र लाग्ने उनले निकटस्थहरुलाई बताएका छन् ।

प्रचण्डलाई एमालेको समर्थनमा पहिलोचरणको प्रधानमन्त्री बनाउदा उनको चाहना पूरा हुने र विस्तारै एमालेसँग पुनः पार्टी मिलाएर कोर्स करेक्सन गर्न सकिने वर्षमानको विश्वास छ । प्रचण्डको व्यवस्थापन हुनासाथ पार्टी मिल्न गाह्रो नहुने माओवादी नेताहरुको बुझाइ छ ।

विहीवार साँझ माधव नेपालसहित बालुवाटारमा देउवा र प्रचण्डको छलफल भएको छ । यसमा के के कुरा भए भन्ने आइसकेको छैन,तर वर्षमाननिकट स्रोतले भने प्रचण्डले आफ्नो बटमलाइन देउवालाई सुनाएका छन् । देउवा प्रचण्डको बटमलाइनबाट अप्ठेरोमा परेका छन् ।

माओवादीको जिल्ला तहदेखिकै पंक्ति कांग्रेससँगको चुनावी गठबन्धनबाट सन्तुष्ट हुन सकेको छैन । त्यो दबाब वर्षमान पुनमार्फत प्रचण्डमा परेको बताइन्छ । यसको नतिजा राष्ट्रपतिले दिएको समयसीमा पुस १०भित्र देखिने नेताहरु बताउछन् ।

एमाले र माओवादी मिल्नासाथ राप्रपा तथा जसपासहित लगभग वहुमत पुग्छ । नेकपा एस कांग्रेससँगै रहे पनि अन्य साना दल र स्वतन्त्र मिलाएर सुविधाजनक बहुमतको सरकार बनाउने अवस्था रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी समेत सकारात्मक रहेको नेताहरुले बताएका छन् । (यो समचार नेपालप्रेसबाट साभार)

Ads

सम्बन्धित पोष्टहरू