Ads

संसदीय दलमा हारेपछि संसदमा पनि गगन ओझेलमा


काठमाडौं । संसदीय दलको नेताका लागि बुधबार भएको निर्वाचनमा लज्जास्पद ढंगले हारेपछि विहिबार भएको प्रतिनिधिसभाका सांसदको शपथग्रहणमा पनि कांग्रेस नेता गगन थापा ओझेलमा परेका छन् ।गगनका शुभचिन्तक र समर्थकको अरु दिन भीँड लाग्ने गरेको भए पनि बिहीबारको शपथग्रहणमा भनें थापाको त्यस्तो क्रेज देखिएन । थापालाई अरुबेला मानिसले घेरेर फोटो खिच्ने गरेका थिए भनें बिहीबार भनें उनी त्यो कामबाट फुर्सदिला देखिन्थे । गगनले संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजय भोग्नुप¥यो । गगनले २५ मतमात्र पाउँदा देउवाले ६४ मत ल्याए ।

प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद रहेका छन् । गगनले संसदीय दलको नेता बन्दै प्रधानमन्त्रीसमेत हुने कल्पना गरेका थिए । गगन काठमाडौं ४ बाट २०७०, २०७४ र २०७९ सालमा निर्वाचित सांसद हुन् ।पार्टीको निर्वाचित महामन्त्रीसमेत रहेका उनीप्रति कांग्रेसभित्र एक प्रकारको आशा जागेको छ । जनताको काममा खासै चासो नदिए पनि उनी भाषणमा भने माहिर छन् । उनको वाककलालाई धेरैले प्रशंसा गरेका छन् ।

प्रतिनिधिसभाका सांसदहरुले बिहीबार शपथग्रहण गरेका छन् । दिउँसो १ बजे संसद भवन नयाँ वानेश्वरमा भएको शपथमा अनेक प्रकारका दृश्य देखिए । मौलिक र परम्परागत पोशाकमा सांसदहरु उपस्थित थिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले उनीहरुलाई शपथ गराए । राणाले हिजै पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रतिनिधिसभामा निर्वाचित १ सय ६५ र समानुपातिक १ सय १० गरी २ सय ७५ जना प्रतिनिधिसभामा सांसद रहेका छन् । बिहीबार भएको शपथ ग्रहणमा सबैभन्दा चर्चित बनेका थिए राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने । उनलाई फोटो खिच्न र सञ्चारमाध्यमलाई अन्तरवार्ता दिन भ्याइनभ्याई थियो ।

रविले चितवन २ बाट प्रतिनिधिसभाको निर्वाचन जितेका हुन् । उनीसँग सर्वसाधरण, अन्य पार्टीका नेता, संसद सचिवालयका कर्मचारी र पत्रकारहरुको ठूलो लाइन थियो । उनले पत्रकारलाई पार्टीको अबको लाइनका बारेमा पनि जानकारी गराए । यो पार्टीबाट ७ जना निर्वाचित र १३ समानुपातिक गरी प्रतिनिधिसभामा २० जना सांसद रहेका छन् । न्यूज २४ टेलिभिजनमा ‘जनतासँग सिधा कुरा’ कार्यक्रम चलाएर चर्चित भएका उनले पत्रकारहरुलाई पनि कार्यक्रम चलाएकै शैलीमा अन्तरवार्ता दिएका थिए । उनी संसद भवन पुग्दा शुभेच्छुकबाट घेरिएका थिए । रविले राज्यमन्त्री उमेश श्रेष्ठ र त्यही क्षेत्रबाट दुई पटक निर्वाचित एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलसहित अरुलाई अत्यन्तै फराकिलो मतान्तरले जितेका हुन् ।

लामिछाने शपथपछि पनि निकैबेर संसद भवनभित्रै बसेका थिए । त्यस्तै आज चर्चित थिइन् अर्की सांसद तोसिमा कार्की । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट नै निर्वाचन जितेकी उनलाई पनि फोटो खिचाउन फुर्सद नै थिएन । संसद सचिवालयका कर्मचारीलाई उनले संयुक्त फोटो खिच्न र त्यसैलाई शेयर गर्न पनि आग्रह गरेकी थिइन् । कतिपयले उनलाई ‘म त तपाइकै जिल्लाको मान्छे’ भनेका थिए भनें कतिपयले भनें मेरो निर्वाचन क्षेत्र नै त्यही हो भनेर खुशीका साथ फोटो खिचेका थिए । अधिकांश पत्रकारले पनि उनीसँग तस्विर लिएका थिए ।

उनले आफू अब त्यो क्षेत्रको मात्र नभएर देशकै नेता भएको समेत प्रतिक्रिया दिएकी थिइन् । एक पटक तोसिमाको उम्मेदवारी खारेजीको चर्चा चलेसँगै उनी झन् चर्चित भएकी थिइन् । उनले उर्जामन्त्री पम्फा भुसालसहित अरु उम्मेदवारलाई हराएकी हुन् । रवि र तोसिमाको क्रेजको अगाडि पार्टीका पुराना नेता फिक्का भएका थिए । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धेरैको चासो नै थिएन ।

Ads

सम्बन्धित पोष्टहरू