Ads

 गठबन्धन टुटेर सत्ताबाट बाहिर आएका कांग्रेस सभापति देउवा झन् बलियो


काठमाडौं । गठबन्धन टुटेर सत्ताबाट बाहिर आएको कांग्रेसमा सभापति देउवा अझ बलियो बन्दै गएका छन् । पछिल्लो पटक देखिएको परिदृश्यले त्यही पुष्टि गर्छ । प्रतिनिधिसभाको सबैभन्दा ठुलो पार्टी भए पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था सभापति देउवाकै कारण आएको हो भन्ने संस्थापनइतर पक्षले आरोप लगाएर उनको राजीनामासमेत मागिरहेको समयमा देउवा अझ बलियो अवस्थामा पुगेको परिणामले देखाएको हो ।

कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्थाको दोष देउवालाई मात्रै देखाउन खोजिए पनि कांग्रेसका सांसदहरू यसको दोष देउवाको मात्रै होइन भन्ने निष्कर्षमा रहेको प्रदेश १ संसदीय दलको निर्वाचनले देखाएको छ ।

प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौला नजिक मानिन्छन् । तर, कांग्रेसको १४औँ महाधिवेशनमा देउवालाई समर्थन गरेपछि देउवाले सिटौला पक्षका नेता कार्यकर्ताको संरक्षण थालेका छन् ।

थापासँगको प्रतिस्पर्धामा देउवा पक्षका अमृत अर्यालले जम्मा २ मत मात्रै ल्याएका छन् । संस्थापनइतरका केदार कार्कीले ९ मत पाएका छन् । यसको अर्थ देउवा पक्षले पनि थापालाई समर्थन गरेको स्पष्ट हुन्छ भने संस्थापनइतरका नेता डा. शेखर कोइरालाको प्रभाव क्षेत्र भनिएको प्रदेश १ मा पनि देउवा पक्ष हाबी देखिएको छ ।

नेपाली कांग्रेस संसदीय दलको नेतामा भएको निर्वाचनमा पनि देउवा पक्ष अपेक्षाकृत बलियो देखिएको थियो । देउवाविरुद्धको भेलामा कांग्रेसका ३२ जना सांसद भेला भए पनि जम्मा २५ जनाले मात्रै उनको विरुद्धमा भोट हालेका थिए । तर, यो विषय भने कांग्रेसले सत्ता गुमाउनुभन्दा अगाडिको विषय थियो ।

कांग्रेसले सत्ता गुमाएपछिको अवस्थाबारे छलफल गर्न २२ पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सो बैठकमा देउवाको राजीनामा पनि माग्नेसम्मको तयारी संस्थापनइतर पक्षले गरेको छ । तर, संस्थापनइतर समूहको तयारी हेर्दा सो समूह देउवामाथि दबाब बढाएर उनलाई ‘सरी’ भनाउने हदसम्म मात्रै जान सक्ने देखिएको छ ।

‘२२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा एकले अर्काे पक्षलाई आरोप प्रत्यारोप गर्ने तयारी गरेका छन्, यथार्थमा हेर्दा हामीले विशेष महाधिवेशन बोलाउन सके पनि अविश्वासको प्रस्ताव पारित गर्न सक्दैनौँ, त्यसैले सभापतिले बढीमा गल्ती महसुस गरेर ‘सरी’ भन्नुहोला,’ संस्थापनइतरका एक केन्द्रीय सदस्यले क्यानडा नेपालसँग भने ।

नेपाली कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउन २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गर्नुपर्छ । मिहिनेत गर्ने हो भने २५ प्रतिशत महाधिवेशन प्रतिनिधि पुर्‍याएर विशेष महाधिवेशन बोलाउन सकिन्छ भन्ने विश्लेषणमा संस्थापनइतर समूह छ । तर, देउवालाई हटाउन आवश्यक पर्ने दुई तिहाइ मत पुर्‍याउन सकिन्छ भन्नेमा इतर समूहले आँट नै गरेको छैन ।

‘२५ प्रतिशत पुर्‍याएर विशेष महाधिवेन बोलाउन त सकिएला, त्यसपछि हटाउनुपर्‍यो, दुई तिहाइबाट मात्रै अविश्वासको प्रस्ताव पारित हुन्छ । अहिलेको अवस्थामा सभापति देउवाविरुद्ध दुई तिहाइ पुग्छ भन्ने आशा गर्न सकिँदैन । त्यसैले सकेसम्म नैतिक प्रश्न उठाएर उहाँले नै केही निकास दिनुहुन्छ कि भन्ने हो, जुन निकै कम सम्भावनाको विषय हो,’ संस्थापनइतर समूहका ती केन्द्रीय सदस्य भन्छन् ।

उनले २०७४ को निर्वाचनमा पार्टीले २३ सिट जित्दा त देउवाले फेरि सभापतिमा निर्वाचन जितेको उदाहरण दिँदै अहिले त झन् ८९ सिट जितेर सबैभन्दा ठुलो पार्टी भएको अवस्थामा देउवामाथि धेरै दबाब सिर्जना गर्न नसकिने विश्लेषण सुनाए ।संस्थापन समूहका नेताहरू पनि कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउनुको मुख्य दोष पार्टी सभापति देउवाको नै भएको बताउँछन् । तर, अन्य पदाधिकारीको पनि दोष रहेको संस्थापन पक्षका केन्द्रीय सदस्य रामहरि खतिवडाको तर्क छ ।

संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्न पाउने अवस्था आएको थियो । तर कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने भयो, यसले गर्दा कांग्रेसका नेता कार्यकर्ता निराश छन्, यसको मुख्य दोष सभापतिजीको हो । तर, अन्य पदाधिकारी पनि दोषमुक्त छैनन्, उनीहरूले के पहल गरेका थिए भन्ने पनि छलफल हुन्छ,’ नेता खतिवडाले क्यानडा नेपालसँग भने ।

उनले अन्य पदाधिकारीले अरू बेलामा विभिन्न प्रकारका भेला गरेर सभापति देउवालाई दबाब दिने गरे पनि यसपालि कांग्रेस सत्ताविहीन अवस्थामा हुने बेलामा कुनै प्रयास नगरी मौन बस्दा यो परिणाम आएको हो कि ! भनेर पनि छलफल हुने बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू