काठमाडौं, । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सोमबार दिउँसो २ बजे गृह मन्त्रालयको सभाहलमा बसेको थियो ।
बैठकले विशेषगरी माघ २ गते पर्ने भूकम्प सुरक्षा दिवसमा आयोजना गरिने कार्यक्रमबारे केही निर्णय गरेको छ । १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा २०५५ सालयता हरेक वर्ष यो दिवस मनाउँदै आएको छ । भूकम्पको जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना हुँदै आएको हो ।
यसरी मनाइने दिवसको मूल समारोह गर्ने जिम्मा विशेषगरी कुनै एउटा पालिकालाई दिइन्छ । यसअघि भक्तपुर नगरपालिका र ललितपुर महानगरपालिकाले समारोह सञ्चालन गरिसकेको हुँदा यस वर्ष काठमाडौं महानगरपालिकाले यसलाई आयोजना गर्ने निर्णय बैठकले गरेको छ । यस्तै यो दिवस देशव्यापी रूपमा मनाउने पनि निर्णय भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्न गृहमन्त्री लामिछानेले अनुरोध गर्ने पनि निर्णय गरिएको छ । ललितपुर मेयर चिरीबाबु महर्जनले यस कार्यक्रममा ‘डिजास्टर रिडक्सन ड्रिल’ गर्न सुझाव दिए । यो कार्य प्रभावकारी हुने उनको भनाइ थियो। त्यस्तै, सदस्यहरूले विद्यार्थी, सरकारी कर्मचारी लगायतलाई केन्द्रित गरेर पनि भूकम्पसम्बन्धी चेतनामूलक कार्यक्रमहरू आयोजना हुनुपर्ने सुझाव आएका थिए ।
यसरी छलफल सकेसँगै अन्त्यमा गृहमन्त्री रवि लामिछानेले सुरूआतमै कम्बोडियामा आगलागी हुँदा ज्यान गुमाएका झापाका निराकर पाण्डेको मृत्युप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरे।
उनले माघ २ गते मनाइने कार्यक्रम पनि भूकम्प केन्द्रित हुने वा विपद् केन्द्रित हुने विषय पनि सोच्नुपर्ने बताए। आयोजना गरिनेको कार्यक्रमको प्रभावकारिताबारे समीक्षा समेत गर्नुपर्ने उनले बताए। यसले आगामी कार्यक्रम कसरी लैजाने भन्नेबारेमा पनि तय गर्न सकिने बताए।
अन्त्यमा उनले भूकम्प न्यूनीकरणको सुरूआत आफैंबाट गर्नुपर्ने बताए। मन्तव्यको अन्त्यमा उनले गृह मन्त्रालयको सभाहल नै असुरक्षित भएको संकेत गरे। उनले भने, ‘भूकम्पको जोखिम न्यूनीकरण कहीँ कतैबाट सुरूआत गर्नुपर्ने नै हुन्छ। त्यो किन हामीबाटै नगर्ने? हामी जम्मा भएको हलमा नै इमर्जेन्सी एक्जिट छैन। अहिले भर्खरै भूकम्प गयो भने हामी नै जोखिममा पर्न सक्छौं।’
उनले आजै त्यस हलमा इमर्जेन्सी एक्जिट बनाउन अध्ययन गर्न पनि निर्देशन दिए । ‘यहाँ इमर्जेन्सी एक्जिट बनाउन र फायर एक्सटिनग्विसर राख्नको लागि आजैदेखि अध्ययन थाल्न म निर्देशन दिन चाहन्छु,’ उनले भने, ‘यो अत्यन्तै महत्वपूर्ण कुरा हो। हरेक जोखिमपूर्ण ठाउँलाई सुरक्षित बनाउन थालौं। आफैंदेखि सुरूआत गरौं।’
बैठकमा गृहसचिव विनोदप्रकाश सिंह, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, भक्तपुर नगरका मेयर सुनिल प्रजापति, मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो। सभाहल भरिभराउ थियो भने कतिपयले उभिएरै बैठकमा सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्