काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ ।
आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
महाधिवेशनबाट दुई सय ३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलले अनुमोदन गरेको हो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउने महराले जानकारी दिनुभयो ।
पुस ११ दिउँसो कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन भएको थियो । महाधिवेशनको दोस्रो दिन पुस १२ गतेबाट बन्दसत्र सुरु भएको थियो ।
महाधिवेशनको आठौं दिन महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्दसत्र समक्ष प्रस्तुत गर्नुभयो । प्रचण्डले प्रस्तुत गर्नुभएको केन्द्रीय सदस्यको नाम आइतबार महाधिवेशनले पारित गरेको हो ।
विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारी चयन गर्ने जानकारी गराउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्