काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल भोगिरहेका रेशम चौधरीको मुद्दा विश्वासको मतपछि टुंग्याउन पहल गर्ने बताएका छन् ।
शुक्रबार थारू कल्याणकारिणी सभाका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि रेशमको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतपछि रेमशमको मुद्दाको बारेमा टुगो लाग्नेबारे प्रतिवद्धता जनाउनुभयो। टीकापुरको मुद्दा पहिल्यैदेखि राजनीतिक भएकाले यसलाई राजनीतिक तवरले नै टुंगोमा पु¥याउने पहल आफूले गर्ने बताउनुभयो।’
यसकासाथै संसदमा विश्वासको मतपछि निजामती सेवा ऐन लैजाने जसमा थारूको आरक्षणसमेत सुनिश्चित हुने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको महामन्त्री चौधरीले बताए ।
यस्तै लोक सेवा आयोगको लापरबाहीबारे थाकसलगायतका पदाधिकारीले जानकारी गराउँदा प्रधानमन्त्री प्रचण्डले यस विषयमा तत्लकाल सच्याउन निर्देशनसमेत दिने प्रतिवद्धता व्यक्त गरेको थारू भाषा मानकीकरणका संयोजक कुछतनारायण चौधरीले जानकारी दिए ।
यसका साथै भेटमा थारू आयोगका पदाधिकारीहरुले थारूको भाषा, संस्कृतिमाथि संवैधानिक निकायबाटै भइरहेको आक्रमणलाई जोगाउनसमेत पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्