कर्णाली । विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन ।
राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । विसं २०७४ को निर्वाचनपश्चात प्रदेशसभामा निर्वाचित कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिला सातै प्रदेशमा निर्वाचित भए । संसद्मा सभामुख र उपसभामुखमा पुरुष वा महिला अनिवार्य हुनुपर्ने संवैधानिक बाध्यताले सबै प्रदेशमा उतिबेला महिला उपसभामुखमा मात्र चुनिए ।
विसं २०७९ को निर्वाचनपश्चात कर्णाली प्रदेशसभाले आइतबार मात्र सभामुख प्राप्त गरेको छ । माघ १ गते सम्पन्न भएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा सदस्य नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको हो । सभामुखमा निर्वाचित उनी सङ्घीयताको इतिहासमा नेपालकै पहिलो महिला हुन् ।
नवनिर्वाचित सभामुख गुरुङको जीवनी
विसं २०२३ फागुन २ गते आमा कुमारी र बुवा लालबहादुर गुरुङको जेठी छोरीका रूपमा दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा जन्मिएको थियो । आमा बुवासहित परिवार बसाइँ सरेपछि उनको बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा बित्यो । उनले प्रारम्भिक शिक्षा बर्दियाबाट लिए ।
घरमा दाजुहरू राजनीतिमा आबद्ध भएकाले गुरुङमा सानै उमेरदेखि राजनीतिक प्रभाव थियो । त्यही प्रभावले आठ–नौ कक्षा पढ्दा नै राजनीतिकबारे बुझ्न थालेकी उनले विसं २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियु छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी गुरुङले विसं २०४६ पछि नेकपा (एमाले)को राजनीतिमा जोडिए ।
एमालेको प्रारम्भिक कमिटी, वडा, क्षेत्र हुँदै जिल्ला कमिटीमा आबद्ध भएर सदस्यका रूपमा काम गरे । त्यस्तै युवासङ्घको जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर कामगरे । पछि विसं २०५४ मा हालको वीरेन्द्रनगर नगरपालिका–२ (साविकको उत्तरगङ्गा गाविस–४ सुर्खेत)को वडासदस्यमा विजयी भए। त्यही सालमा मेनिन्जाइटिस् रोगका कारण उनले पति धर्मबहादुर गुरुङलाई गुमाउनुपर्यो ।
एकल महिलाको सङ्घर्षपूर्ण जिन्दगीलाई उनले समाज सेवामा लगाउँदै पछि खुला शिक्षातर्फ वीरेन्द्रनगर–१२ अमरज्योति माविबाट विसं २०६५ मा एसएलसी, २०६६/६७ मा जनमाविबाट प्रवीणता प्रमाणपत्र तह र २०७० मा सुर्खेत क्याम्पस शिक्षाबाट स्वास्थ्य विषय लिएर स्नातक पास गरे ।
अखिल नेपाल महिला सङ्गठनको जिल्ला संयोजक र केन्द्रीय सदस्यका रूपमा काम गर्दै आएकी गुरुङ अहिले प्रदेश कमिटी सदस्य छन् । उनी एकल महिला तथा महिलाहरूको हकहितका लागि पनि क्रियाशीलछन् । हाल मानवअधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि हुन् । तीन दाजु र आफूसहित एक बहिनी भएकी सभामुख गुरुङका दुई छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्