Ads

सर्वदलीय बैठक : प्रमुख विपक्षी दलको मान्यता आफूले पाउनु पर्ने कांग्रेसको दाबी


काठमाडौ । नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा आफ्ना सभापति शेरबहादुर देउवा नै हुनु पर्ने दाबी गरेको हो ।

‘हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको र कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेता रहेको कुरा राख्यौं’ बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरुसित भने ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखको विषयमा समेत छलफल भएको नेता लेखकले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले यी संवैधानिक पदहरुमा सहमति गर्न सकिने विषय बैठकमा राखेका थिए । ‘हामीले प्रमुख प्रतिपक्षी दलको रुपमा कायम रहने गरी यस विषयमा छलफल गरेर जान सकिन्छ भन्यौं’ प्रधानमन्त्रीलाई दिएको जवाफ सुनाउँदै कांग्रेस नेता लेखकले भने ।

कांग्रेसले सरकारलाई समर्थन गरेको भन्दै नेपाल मजदुर किसान पार्टीले प्रमुख विपक्षी दलको मान्यता आफूले पाउनु पर्ने दाबी गरेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू