काठमाडौँ, । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ दलले राष्ट्रिय सहमतिमा चासो नदिएको बताएका छन् ।
कांग्रेसको पदाधिकारीहरूको बैठकपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएर संवैधानिक पदहरूमा राष्ट्रिय सहमतिको प्रयास गरे पनि सो दलले त्यसबारे चासो नदिएको भनाई छ ।
प्रमुख सचेतक लेखकले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर राष्ट्रिय सहमतिका लागि पहल लिएको र सकारात्मक सन्देश दिएको बताए ।
‘प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको प्रयास गर्नुभएको हो । तर, त्यस्तो छलफल अहिलेसम्म भएको छैन । उहाँहरूले छलफल गर्न चाहानुभएन,’ लेखकले भने, ‘सभामुख र उपसभामुखको हकमा त्यस्तो पहल भएन । भोलि के हुन्छ, त्यो त मलाई पनि थाहा छैन ।’
उनले सभामुख एमालेले पाइसकेकाले अब एमालेकै नाममा राष्ट्रिय सहमतिको सम्भावना नरहने समेत दाबी गरे । चुनावअघि नै आफ्नै नेतृत्वमा बनेको गठबन्धन जोगाउन नसक्दा सत्ताविमुख बनेको कांग्रेस संवैधानिक पदहरु हत्याउन दाउपेच रचिरहेको छ । तर‚ सभामुख र उपसभामुख निर्वाचनसम्म कांग्रेसको प्रयास सफल हुन सकेको छैन । कांग्रेसले समेत विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिकालागि प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएर छलफल समेत गरेका थिए ।
कांग्रेस नेताहरूले राष्ट्रपति निर्वाचनसम्म फरक राजनीतिक समीकरणको सम्भावना रहेको बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्