लुम्बिनी । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तागठबन्धनबाट नेकपा (एमाले)का कुमार दसौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । सत्तापक्ष गठबन्धनमै रहे पनि नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।
रोल्पा निवासी दसौदी एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार आचार्य रोल्पाका पूर्वजिल्ला सभापति हुनुहुन्छ। चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय आचार्य पार्टीमा महासमिति सदस्य हुनुहुन्छ ।
एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ। राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।
लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच छ। जसमध्ये प्रदेश सांसदको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ।
त्यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई/दुई, राप्रपा र जनता प्रगतिशीलले एक/एक स्थानमा जितेका छन् । त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार/चार, जसपा, लोसपा र जनमतले तीन/तीन, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक, एक र स्वतन्त्रबाट दुई निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्